नेपाली क्रिकेटलाई लामै समय आरोप लागिरह्यो– नेपाली खेलाडीको बलिङ राम्रो भए पनि ब्याटिङ भरपर्दो छैन । हुन पनि यसअघिका प्राय: प्रतियोगिताका खेल नेपालले बलिङकै बलमा जित्ने गरेको थियो । उमेरसमूहका केही प्रतियोगितामा राम्रै गरे पनि सशक्त ब्याटिङ क्षमताको अभावमा ‘सिनियर’ हैसियतका प्रतियोगितामा गतिलो नतिजा निकाल्न सकिरहेको थिएन । तर, अहिले आएर नेपाली सिनियर टोलीले यो आरोपलाई पुरानो बनाइदिएको छ । नेपाली ब्याट्सम्यानहरूले आफूलाई ब्याटिङ–बलिङ दुवै सशक्त रहेको सन्तुलित टोलीका रूपमा उभ्याएका छन् । नेपालले भर्खरै जितेका डिभिजन फोर र एसीसी ट्रफी एलिट कप यसका प्रमाण हुन् । यूएईले झण्डै खोसिसकेको एसीसी ट्रफी ब्याटिङकै बलमा नेपालले आफ्नो भागमा पनि तान्न सफल भएको थियो । यी दुई प्रतियोगिताबाट खेलाडीले पनि प्रमाणित गरे– अब हामी परिपक्व भइसक्यौं ।
एसीसी एलिट कपमा नेपालका खेलाडीहरूको व्यक्तिगत प्रदर्शन पनि स्मरणयोग्य रहेको छ । ब्याटिङमा नेपालका कप्तान पारस खड्का प्रतियोगितामै सबैभन्दा बढी रन बनाउनेमा परे भने सबैभन्दा बढी विकेट लिनेमा पनि नेपालकै शक्ति गौचन अगाडि रहे । यसैबीच नेपालका तर्फबाट तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र मल्लले साउदी अरबविरुद्धको म्याचमा बनाएको रेकर्ड भने निकै दुर्लभ थियो । उनले आफूले फेस गरेका सात बलमा लगातार चौका हानेर अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ मानिने रेकर्ड राखेका हुन् । उनले दशौं ओभरका ६ बलमा एकपछि अर्को गर्दै ६ चौका हानेका थिए भने त्यसपछि आफूले फेस गरेको १२ औं ओभरको पहिलो बलमा पनि चौका हानेका थिए । त्यस खेलमा केवल १८ बलमा अर्धशतक बनाएर ज्ञानेन्द्रले सबैभन्दा छिटो अद्र्धशतक बनाउने नेपाली खेलाडीको रेकर्ड राखे । सन् २००५ मा उमेरसमूहको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तत: सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका ज्ञानेन्द्र सम्झँदै छन्, सात चौका हान्दाको अविस्मरणीय क्षण ।
हामीले एसीसी ट्रफी एलिट कपको प्रारम्भ निकै सशक्तरूपमा गरेका थियौं, यूएईजस्तो बलियो टोलीलाई पहिलोपटक हराएर । दोस्रो म्याचमा कुवेतविरुद्ध पनि ब्याटिङ राम्रो भएको थियो । तर कुवेतका ब्याट्सम्यानहरू आक्रामक रूपमा प्रस्तुत भए र हामीले नसोचेको हार बेहोर्नुपर्यो । कुवेतसँग हारेपछि साउदी अरबविरुद्धको खेलमा हामीलाई रनरेटको दबाब पर्ने निश्चित थियो । जितेर मात्र पुग्दैनथ्यो, राम्रो रनरेटका लागि भारी अन्तर बनाउन सक्नुपथ्र्यो ।
हाम्रो बलिङ सोचेजस्तै भयो र साउदी अरबलाई थोरै योगफलमा समेट्यौं । अब आक्रामक ब्याटिङ गरेर जतिसक्दो कम समयमा लक्ष्य पूरा गरेर रनरेट बढाउनेमा हाम्रो ध्यान केन्द्रित भयो । आठौँ ओभरको तेस्रो बलमा अनिल मण्डल बोल्ड भएपछि म क्रिजमा गएँ । जानुअघि कोच र क्याप्टेनले सकेसम्म छिटो खेल सक्न निर्देशन दिनुभएको थियो । मैले खुलेर आफ्ना सटहरू हिर्काउन ‘लाइसेन्स’ पाएको थिएँ । साउदीको बलिङमाथि जमेर आक्रमण गर्नेमा मलाई कुनै दोधार थिएन । यद्यपि आक्रमण गर्ने बहानामा ‘वाइल्ड’ सटहरू खेलेर आउट हुन हुँदैन भन्ने पनि मलाई थाहा थियो ।
खुसीको कुरा, आफूले पाएको पहिलो बललाई नै बाउन्ड्री लाइन कटाउन सफल भएँ । त्यो बललाई मैले मिडअनमा उठाएर चौका प्रहार गरेको थिएँ । हाम्रो इनिङको १०औँ ओभर भने अकल्पनीय बन्यो मेरा लागि । साउदीका स्पिनर मोहम्मद नदिम बलिङ गर्न आएका थिए । स्ट्राइकमा मै थिएँ । पहिलो बल नै मलाई सटका लागि उपयुक्त हुने गरी आयो, चौका हानेँ । त्यसपछिका पाँच बल पनि मैले अनुकूलकै पाइरहँे । एकपछि अर्को चौका बजाएँ । तर अन्धाधुन्द होइन, आफूलाई एकदम सम्हालेर अनि सुरक्षित राखेर खेलिरहेको थिएँ । ग्यापमा खेलेकाले बल सजिलै बाउन्ड्री लाइन कटिरहेको थियो । लगातार चौका लागिरहे पनि मलाई खासै असामान्य महसुस भएको थिएन । खेलमा कसरी केन्द्रित भएर चाँडो लक्ष्य पूरा गर्ने भन्नेबाहेक अरू कुरामा दिमागै गएन । आफूलाई दबाबमा नराखीकन आरामले ती सट खेलिरहेको थिएँ ।
म देखिरहेको थिएँ– लगातार दुई–तीन चौका प्रहार भएपछि विपक्षीहरूमा निराशा छाइसकेको थियो । बलर सकेसम्म चलाखीपूर्ण बलिङ गरेर मलाई बिट गर्ने प्रयास गर्दै थिए । तर मलाई समयले साथ दिइरहेको थियो, लगातार ६ वटै बलमा बलरलाई निराश बनाएँ ।
त्यसो त सुरुमा मैले लगातार चौका प्रहार गरिरहेको छु भन्ने पनि हेक्का राखेको थिइनँ । स्कोरबोर्डमा एक्कासि पाँच बलमा पाँच चौका उल्लेख भएको देख्दा पो चाल पाएँ । फेरि पनि चौका नै हान्छु भन्ने कुनै योजना थिएन तर छैटौं बलमा पनि चौका लाग्यो । सौभाग्य नै भन्नुपर्छ, त्यो बल पनि मलाई सजिलो ठाउँमा आएको थियो । पूरै ओभर चौकामय भएपछि प्लेयरबक्सबाट उठेर सबैजनाले मलाई सम्मान व्यक्त गरेको देखेँ । मन गदगद भयो । त्यसपछिको ११ ओभरमा मैले ब्याटिङ गर्न पाइनँ । १२ ओभरको पहिलो बल फेस गर्दा फेरि चौका लाग्यो । यसरी मेरो लगातार चौका संख्या ७ पुग्यो । अन्तमा साउदीले दिएको १३२ रनको टार्गेट हामीले केवल १३ औं ओभरमा भेट्टायौं । म २३ बलमा ६१ रन बनाएर नटआउट रहेँ । खेल सकिएपछि उपस्थित नेपाली प्रशंसकहरूले बधाई दिए । ‘तपाईंले कीर्तिमान बनाउनुभयो’ भन्दै सबैले हौस्याए ।
खेलिरहँदा खासै विशेष अनुभूति भएको थिएन । तर खेल सकिएपछि आफैँलाई अचम्म पो लागेर आयो । आफैँलाई सोध्न थालेँं– कसरी खेलेँ मैले यस्ता सट ? यसबीचमा १८ बलमै अर्धशतक पनि पूरा गरेको रहेछु । बलरको कमजोरीले मात्रै होइन, आफूले पनि राम्रो खेल्न सक्नुपर्छ यस्तो उपलब्धिका लागि । सायद मैले पनि राम्रै खेलेछु । राष्ट्रिय कीर्तिमानभन्दा पनि मीठो स्मृति बनिरहनेछ यो तथ्य मेरो जीवनमा । पछि कुनै बेला मैले यस्तो पनि गरेको थिएँ भनेर सम्झँदा आफैँलाई अचम्म लाग्ला । यो उपलब्धिले मलाई आफैँप्रति थप विश्वास बढाइदिएको छ । भन्न मन लाग्छ– अझै राम्रो खेलेर देशको नाम चम्काउन सक्छु । त्यसो त हाम्रो टिमले नै दिनदिनै राम्रो गरिरहेको छ । पछिल्लो एक वर्ष हामी थुप्रै टिमसँग भिड्यौँ, धेरै प्रतियोगिताको अनुभव बटुल्यौँ । यसक्रममा हामीले सबैलाई आफूजस्तै पायौँ । मेहनत गर्दा सकिँदो रै’छ भन्ने भएको छ ।
प्रस्तुति : लोकेन्द्र प्रसाईं
‘असाधारण ब्याटिङ’
ज्ञानेन्द्रको ब्याटिङ प्लेयरबक्समा बसेर हेरिरहेका थियौं । म चौथो नम्बरमा ब्याटिङ गर्न आउनुपर्ने भएकाले प्याड लगाएर तयारी अवस्थामा थिएँ । तर ज्ञानेन्द्रले मलाई क्रिजमा आउने मौका नै दिएनन् † कुवेतविरुद्ध उच्च रनरेटको आवश्यकता त थियो तर लक्ष्य थोरै भएकाले हामी सजिलै जित्ने कुरामा निश्चिन्त पनि थियौँ । अनिल मण्डल आउट भए पनि त्यतिबेलासम्म जितको आधार तयार भइसकेको थियो । अरू बेलाजस्तै ज्ञानेन्द्र तेस्रो नम्बरमा ब्याटिङ गर्न गए । उनले स्वाभाविक खेल खेल्ने विश्वासमा थियौं । तर सोचेभन्दा धेरै राम्रो खेले । साँच्चै भन्ने हो भने उनले असाधारण ब्याटिङ गरे । ज्ञानेन्द्रले एकपछि अर्को चौका प्रहार गरिरहँदा प्लेयरबक्समा हामी एकअर्कालाई हेर्दै ट्वाँ परिरहेका थियौँ । उत्साहले केही बोल्न सकिरहेका थिएनौँ । ६ चौका हानेपछि भने हामी सबैले उठेर ताली बजायौँ । यो नेपाली क्रिकेटकै एउटा अविस्मरणीय क्षण हो ।
यसरी हाने ज्ञानेन्द्रले ७ चौका
पहिलो बल – अफस्टम्पबाहिरको फुलर बललाई कभरमा ड्राइभ गरेर चौका ।
दोस्रो बल – लेगस्टम्पतिरको फुलर बललाई उठाएर लङ अनमा प्रहार गरी चौका ।
तेस्रो बल – स्क्वायर लेगमा स्विप गर्दै चौकाको ह्याट्रिक ।
चौथो बल – चारमा चार । अफस्टम्पभन्दा बाहिरको सर्ट बललाई पुल गर्दै डिप मिडविकेटमा चौका ।
पााचौं बल – लेगस्टम्पमा बल । फाइनलेगतिर फ्लिक गर्दै लगातार पााचौं बलमा चौका ।
छैटौं बल – ओभरको छैटौा बाउन्ड्री । डिप मिडविकेटमा स्लग गर्दै चौका । एक ओभरमा चौबीस रन पूरा ।
सातौं बल – अगाडि बढेर लङ अफतिर ड्राइभ गर्दै चौका ।
प्रतिक्रिया