सुर्मादेवी मेलामा १८ टिम भिड्दै

कैलाली, १४ कात्तिक । निजी क्षेत्रबाट सञ्चालित सुदूरपश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता बझाङको सदरमुकाम चैनपुरमा आइतबारदेखि सुरु भएको छ । एक लाख रुपियाँ पुरस्कार घोषणा गरिएको प्रतियोगितामा प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपियाँ दिइने आयोजकले जानकारी दिएको छ ।
सुर्मादेवी मेलाको उपलक्ष्यमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा १८ टिमबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्रीयस्तरको खेलका लागि आयोजकले तयारी गरेको भए पनि बाहिरी जिल्लाका टिम भने सहभागी छैनन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले खेल उद्घाटन गरेका छन् ।
पहिलो खेल एआरभी स्मृति कैलास र ज्ञानज्योति कैलास टिमबीच भएको छ । उत्तmखेलमा ज्ञानज्योति विजयी भएको छ । पूर्व जनमुत्तिm सेना र नेपाल प्रहरीबीच भएको दोस्रो खेलमा प्रहरीले सफलता हात पारेको छ । तेस्रो खेल भडार मस्टा र सेती साइपाल गोलाईबीच भएको छ । बेस्ट अफ फाइभका आधारमा खेलाइएको यो खेल नकआउट प्रतियोगिता हो ।
खेलमा जिल्लाका चौधारी नौविस, कडेल झोता, सुर्मा, दौलीचौर, चैनपुरलगायत गाविसका खेलाडीले समूह बनाई भाग लिइरहेको प्रतियोगिताका आयोजक बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष ओमजङबहादुर सिंहले बताए ।
आइतबार र सोमबार पहिलो राउन्ड खेलाएको र मंगलबार सेमिफाइनल खेलाइने रेफ्री श्याम जोशीले जानकारी दिए । सोमबार कोजाग्रत पूर्णिमाका दिन राति चैनपुरमा सिलदेवी मन्दिरमा जात्रा पनि लाग्ने भएकाले देउडा प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम पनि हुने भएका छन् ।

प्रतिक्रिया