नेटो कारबाहीमा १५ तालिबानीको मृत्यु

काबुल : अफगानिस्तानमा नेटो सेनाले सोमबार गरेको कारबाहीमा १५ भन्दा बढी तालिबानी सशस्त्र लडाकुको मृत्यु भएको समाचारमा जनाइएको छ । कारबाहीमा १४ तालिबानी आतंककारी पक्राउ परेको अफगानिस्तानको गृह मन्त्रालयद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले सातवटा क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको छ । कारबाहीको क्रममा विभिन्न हातहतियार कब्जा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । यस कारबाहीमा सुरक्षाबलतर्फ भने हताहती नभएको समाचारमा उल्लेख छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख सेनाले तालिबानी लडाकुविरुद्ध सुरक्षा प्रदान गर्नुका साथै विभिन्न स्थानमा कारबाही पनि जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको छ ।
अफगानिस्तानमा एक दशकदेखि सरकारविरुद्ध लडाइँ गरिरहेका सशस्त्र तालिवानी आतंककारीले अफगान र नेटो सैनिकलाई लक्ष्य गरी सडककिनारमा गरेका बमलगायत विभिन्न विस्फोटक पदार्थ विस्फोटनमा नागरिक हताहती बढेको समाचारमा उल्लेख छ ।
गत अक्टोबर १९ मा अफगानिस्तानको उत्तरी बाल्घ प्रान्तमा एक नागरिक बस विस्फोटक पदार्थसँग ठोकिँदा १८ सर्वसाधारणको मृत्यु हुनुका साथै १५ घाइते भएका छन् । पछिल्लो समयमा नेटो सैनिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएकाले नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै जाँदा यसका चुनौती पनि थप बढ्दै गएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया