इद बिदामा पनि विमान आक्रमण जारी

दमासकस : मुस्लिम पर्व इद अल अधाको अवसरमा हुने चारै दिन बिदाको अन्तिम दिन सोमबार पनि सिरियाको राजधानी दमासकस र अन्य भागमा सरकारी सेनाले विमान आक्रमण जारी राखेको छ ।
सिरियाका लागि संयुक्त राष्ट्रसंघ र मुस्लिम लिगका विशेष दूत लख्दर ब्राहिमी प्रस्तावित इद अल अधाको चार दिन युद्धविराम असफल भएपछि विभिन्न ठाउँमा आक्रमण जारी रहेको छ ।
विद्रोहीको बलियो प्रभाव रहेको राजधानी दमासकसको उत्तरपूर्वी भाग हारास्तामा सरकारी सेनाले गरेको विमान आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ । सिरियाको मारेत अल नुमान नजिकैको वादी दाइफ सैनिक शिविरबाहिर विद्रोही र सैनिकबीच भएको झडपमा १४ सैनिक घाइते भएको जनाइएको छ । आइतबार मात्र सिरियाभरि १ सय ३४ व्यक्तिको मृत्यु भएको थियो जसमध्ये ५१ सर्वसाधारण र ४८ विद्रोही र ३५ जना राष्ट्रपति बसर अल–असद समर्थक सैनिक रहेको बताइएको छ ।
करिब २० महिनादेखि हत्या हिंसा जारी रहेको सिरियामा शुक्रबारदेखि सुरु भएको मुस्लिमहरूको चाड इद अल अधाको अवसरमा युद्धविराम गर्न सबैतिरबाट आग्रह गरिएबमोजिम त्यहाँको सरकार र विद्रोही पक्षले युद्धविरामको घोषणा गरे पनि त्यो लागू भने हुन सकेन ।
सन् २०११ को मार्चदेखि राष्ट्रपति बसर अल–असदको राजीनामाको माग गर्दै सुरु भएको जनप्रदर्शनको क्रममा हालसम्म ३५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको मानवअधिकारवादीले जनाएका छन् । हिंसा र हत्या रोक्न अन्तर्राष्ट्रिय दबाब जारी रहेको भए पनि राष्ट्रपति असदले आफ्नो अडान छाडेका छैनन् र शान्तिपूर्ण संक्रमणकाल व्यवस्थापनको सम्भावना न्यून हुँदै गएको छ । (एएफपी)

प्रतिक्रिया