एमालेको नयाँ भवन निर्माण अलपत्र

काठमाडौं, १४ कात्तिक । दुई वर्षभित्र बनाइसक्ने योजनासाथ डेढ वर्षअघि शिलान्यास भएको एमाले केन्द्रीय कार्यालयको नयाँ भवन निर्माण सुरु नै नभई अलपत्र परेको छ । नयाँ चुनावको तयारीमा पार्टी लाग्नुपर्ने भएकाले निर्माणकार्य अगाडि नबढेको निर्माण समितिले जनाएको छ ।

डेढ वर्षअघि पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला केन्द्रीय कार्यालयसँगै जोडिएको जग्गामा खनालले पुष्पलाल स्मृति भवनको शिलान्यास गरेका थिए । तर, शिलान्यासका दिन खनालले राखेको इँटामा अर्काे एउटा इँटा पनि थपिएको छैन बरु निर्माणस्थलमा दुई बाली धान पाकिसकेको छ ।
संविधान नबनेपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएको र पार्टीले चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले भवन निर्माणकार्य रोकिएको निर्माण समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेश भट्टराईले बताए । ‘संविधानसभा विघटन भएपछि नयाँ परिस्थितिमा चुनावको तयारी गर्नुपर्नेसम्मको अवस्था छ,’ भट्टराईले सौर्यसँग भने, ‘कार्यालय भवन र चुनावीलगायत अन्य राजनीतिक तयारी एकैसाथ गर्न नसकिने भएकाले अहिले त्यो रोकिएको हो ।’
३ जेठ ०६८ मा महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले भवन निर्माण समिति र कार्यकर्ता संरक्षण कोष स्थापना गरी पुष्पलाल स्मृति प्रतिष्ठानका नाममा कार्यालय भवन बनाउने योजना तर्जुमा गरेको थियो । दिवंगत महासचिव मदन भण्डारीको स्मृति दिवसमा अध्यक्ष खनालले भवन निर्माणको शिलान्यास गरेका थिए । भवन निर्माण खर्चका लागि कार्यकर्ताबाट १५ करोड रुपियाँ उठाउने योजना एमालेले बनाएको थियो । नयाँ कार्यालयको नक्सा तयार गरी भवन निर्माणका लागि सहयोग संकलनसमेत सुरु गरिएको थियो ।
१८ वर्षअघि बनाइएको हालको केन्द्रीय कार्यालय भवन साँघुरो भएपछि एमालेले नयाँ भवन निर्माणको योजना बनाएको हो । युरोपियनस्तरको ६ तले नयाँ भवनमा नेपाली वास्तुकला झल्काउनेगरी नक्सा तयार गरिएको थियो । भवनको डिजाइन एमाले अनुशासन आयोगका सदस्यसमेत रहेका इन्जिनियर डा. भरत पहारीले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाम जोडेर कार्यालय भवनको पुष्पलाल स्मृति भवन नामकरण गरिएको थियो ।
हाल निर्माणमा अलपत्र रहेको नयाँ भवनमा पाँच सयजना अटाउने सभाकक्ष र त्यसको आकार घटाउन र बढाउन सकिनेगरी डिजाइन गरिएको छ । नयाँ भवनलाई लोडसेडिङ र पानीको समस्याबाट मुक्त राख्न गर्न १० केभिए क्षमताको सौर्य ऊर्जा जडान गरिने र वर्षाद्को पानी संकलन गरी ‘रेन वाटर हार्भेस्टिङ गरी कार्यालयमा पानीको अभाव हुन नदिइने योजना थियो । त्यस्तै, शौचालयलाई बायोग्यास उत्पादनमा उपयोग गरी कार्यालयका लागि आवश्यक इन्धनमा प्रयोग गरिने पनि योजना बनाइएको थियो ।
कार्यालयभित्र जाडोमा न्यानो र गर्मीमा शीतलता दिन एयर कन्डिसन जडान गरिने, बैठककक्षमा मल्टिमिडिया साउन्ड सिस्टम प्रयोग गरी कार्यालयलाई ध्वनि प्रदूषणमुक्त बनाउने नयाँ भवनको डिजाइनमा उल्लेख छ । आठ रेक्टरस्केलसम्मको भूकम्प थेग्न सक्नेगरी कार्यालयलाई भूकम्प प्रतिरोधात्मक बनाइनेगरी भवनको नक्सा तयार गरिएको थियो ।
६ तले प्रस्तावित भवनमा जमिनमाथिको पहिलो तलामा कार्यालय सचिवको कक्ष र पुस्तकालय रहने, दोस्रो तलामा महासचिव र सचिवहरूको कार्यकक्ष, बैठककक्ष, अतिथि सत्कार कक्ष र कूटनीतिक भेटघाट कक्ष, तेस्रो तलामा पार्टी अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरको कार्यकक्ष र बैठक कक्ष बनाइने डिजाइन थियो । त्यस्तै, चौथो तलामा पार्टीको सार्वजनिक जीवनसँग सम्बन्धित काम गर्ने र केन्द्रीय सदस्य र सांसदहरूले पार्टीसँग जोडिएका काम गर्नेगरी भवन डिजाइन भएको थियो ।
सबैभन्दा माथिल्लो तलामा आवश्यकताअनुसार घटाउन र बढाउन सकिनेगरी ५ सय जनासम्म अटाउन सक्नेगरी बहुउद्देश्यीय सभाकक्ष बनाइने डिजाइन थियो । ७५ फिट उचाइ, सबै तलाको क्षेत्रफल ३८ हजार वर्गफिटको हुने भनिएको भवनमा दुईवटा भर्‍याङ र एक लिºट पनि राख्ने योजना थियो ।

प्रतिक्रिया