उदयपुर : जिल्ला वन कार्यालय उदयपुरबाट फूलपातीको रात दुई थुनुवा फरार भएपछि सुरक्षार्थ खटिएका सुरक्षा गार्डमाथि छानबिन सुरु भएको छ ।
दसैँको समय परेको र कार्यालय प्रमुखसमेत दसैँ मनाउन घर गएका कारण थुनुवा भागेको विषयमा छानबिन हुन सकेको थिएन । छानबिन कार्य अगाडि बढाइएको कार्यालयका कुमार खड्काले बताए ।
जिल्ला अदालत उदयपुरबाट म्याद थप गरेर वन मुद्दा चलाइएका दुई थुनुवा त्रियुगा–३ का सुकदेव चौधरी र जोगीदह–५ का दीपक अधिकारी फूलपातीको साँझ लोडसेडिङको मौका छोपेर गार्डलाई छल्दै भागेका थिए ।
वन कार्यालयमा डिएफओ विश्वमणि आचार्य लामो समयदेखि तालिममा रहेका कारण सहायक चन्द्रमान डंगोलले दैनिक कामकाज हेर्दे आएका थिए । दसैँको बिदामा डंगोलसमेत काठमाडौं गएका थिए । वनका जमदार लेखबहादुर मगर, टीकाराम ठकुरी, चन्द्रमान तामाङलगायतले थुनुवाको सुरक्षा गर्दै आएको खड्काले बताए ।
युवा फोरमका अध्यक्षद्वारा आत्महत्या
झापा, १३ कात्तिक । मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ संगठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन् । भद्रपुर–८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह साइकल पसलभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जैसवालको एक पत्नी र दुई छोरा छन् । आत्महत्याका बेला श्रीमती दुई छोरासहित भारतको सिलगुढीस्थित माइती गएकी थिइन् । आत्महत्याको भोलिपल्ट सोमबार जैसवालको कोठाबाट प्रहरीले टिपोट फेला पारेको छ । पारिवारिक स्रोतका अनुसार जैसवाल केही दिनअघिदेखि राजनीतिक विषयका कारण तनावमा थिए । (सौस)
प्रतिक्रिया