बर्सेनि पाँच हजार कामदार ठगिन्छन्

काठमाडौं, १३ कात्तिक । रोजगारीका सिलसिलामा बिदेसिने कामदारमध्ये वार्षिक पाँच हजारजना विभिन्न तरिकाले ठगीमा पर्ने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वार्षिक करिब एक हजार पाँच सय ठगीका उजुरी आउने गरेको र पाँच हजारभन्दा बढी कामदार ठगिने गरेका हुन् ।
एउटै उजुरीमा एकदेखि पाँचजनासम्म कामदार ठगिने गरेको विभागले जनाएको छ । करिब तीन हजार ६ सय नेपाली कामदार बिदेसिने सिलसिलामा एजेन्ट तथा म्यानपावर एजेन्सीद्वारा ठगिएको, म्यानपावर र एजेन्टले सरकारले तोकेको रकमभन्दा बढी रकम लिने, विदेशमा गएर अलपत्र पार्ने, रकम लिएर भाग्ने, सम्झौताभन्दा फरक काममा लगाउने र न्यून पारिश्रमिक दिनेलगायत काममा नेपाली कामदार पर्ने गरेको विभागले जनाएको छ ।
बर्सेनि रोजगारीका क्रममा बिदेसिनेको संख्या बढेसँगै ठगिने क्रम पनि बढेको विभागको भनाइ छ । पछिल्लो समयमा संथागत र व्यक्तिगत रूपमा ठगिनेको संख्या ढेको छ । तर, संस्थागत रूपमा हुने ठगीमा पीडित कामदारले न्याय पाउने गरे पनि व्यक्तिगत ठगीमा भने न्याय नपाउनेको संख्या बढी रहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई सरकारले अध्ययन अनुसन्धान गरेर ठगी नियन्त्रणको प्रयास गरिरहेको बताउँछन् । विगतभन्दा गत आवमा संस्थागत ठगीका उजुरीमाथि कानुनी कारबाही बढाएको, पीडित पक्षका बढीभन्दा बढी उजुरी अदालतमा मुद्दा दायर भएको तथा सम्बन्धित म्यानपावर कम्पनीको धरौटी काटेर ठगिएको रकम फिर्ता दिएको उनले बताए । तर, व्यक्तिगत ठगीका प्रकृति फरक हुने र ठग्ने व्यक्तिको पहिचान गर्न समस्या हुने भएकाले पीडितलाई लक्ष्यअनुसार न्याय दिलाउन नसकेको उनको भनाइ छ ।
केही महिना गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार खाडी र मलेसियालगायत श्रम गन्तव्य मुलुकबाट दैनिक २ दशमलव ५ नेपाली कामदारको शव त्रिभुवन विमानस्थनलमा आउने गरेको छ । यो संख्या वार्षिक नौ सय हाराहारीमा रहेको जनाइएको छ । यसैगरी स्वास्थ्यको कारणले वार्षिक ६ सय नेपाली कामदार फर्कने गरेको पनि अध्ययनले देखाएको छ ।
यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा श्रम विज्ञ डा. गणेश गुरुङ संयोजकत्वको गठित उच्च स्तरीय कार्यदलले समेत पछिल्लो समय कामदार ठगिने क्रम बढेको र यसमा सरकारी कर्मचारीदेखि अध्यागमन विभागका कर्मचारी संलग्न रहेको प्रतिवेदन सरकारलाई दिइएको थियो । अहिले सरकारले पनि सोही प्रतिवेदनका आधारमा सुधार योजना अघि बढाएको विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई बताउँछन् । सोही प्रतिवेदनको सुझावलाई आधर मानेर व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको र उच्चस्तरीय समिति बनाएर कारबाही अघि बढाएको छ । सो कार्यदलले विभिन्न मुलुकसँग हुने नयाँ श्रम सम्झौता र पुरानो सम्झौता पुनरावलोकन गर्दा रोजगारदाताबाट हुने ठगी तथा म्यानपावर र अन्य क्षेत्रबाट कामदारमाथि हुने गरेका ठगी नियन्त्रणका कार्यक्रम उल्लेख गर्न सरकारलाई सुझाएको थियो ।
वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको साउनमा करिब ११ करोड २० लाख र भदौमा व्यत्तिगत रूपमा नौ करोड ६८ लाख १५ हजार चार सय ९१ तथा संस्थागत रूपमा तीन करोड ६१ लाख ७४ लाख आठ सय ८० रुपियाँ रकम ठगी भएको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै साउनमा संस्थागत तथा व्यक्तिगत रूपमा भएको ठगीलाई लिएर चालु आवको दुई महिनामा चार सय ८८ वटा उजुरी परेको विभागले जनाएको छ । यस्तै, गत आवमा एक अर्ब २४ करोड बराबरको ठगी भएको भए पनि फरफारक र अदालतमा उजुरी दर्ता संख्या भने न्यून छ । यसले समेत ठगीका घटना बढ्दै गएको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया