माओवादी प्रस्ताव ठाडै अस्वीकार

काठमाडौं, १३ कात्तिक । विवादित विषय थाती राखेर संविधान जारी गर्ने वा यही सरकारले संविधानसभाको चुनाव गराउने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लिखित प्रस्ताव दुई मुख्य प्रतिपक्षी दल कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । दाहालले लिखित रूपमा दुई दललाई शनिबार दिएको प्रस्तावबारे धारणा बनाउन आइतबार बसेको दुई दलको बैठकले सहमतीय सरकार नबनेसम्म कुनै पनि विषयमा सम्झौता हुन नसक्ने भन्दै दाहालको प्रस्तावलाई ठाडै अस्वीकार गरेको हो ।

एमाओवादी अध्यक्ष दाहालले शनिबार कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर विवादित विषय थाती राखी संविधान जारी गर्ने सर्तमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरेका थिए । त्यसो गर्न कांग्रेस र एमाले सहमत नभए डा. बाबुराम भट्टराईकै नेतृत्वमा संविधानसभाको नयाँ चुनावमा जाने उनको प्रस्ताव थियो । दाहालले सरकारको नेतृत्वमा विवाद भए गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने अर्को विकल्प पनि अघि सारेका थिए । एमाओवादीका तर्फबाट दाहालले अघि सारेको सोही लिखित प्रस्तावमाथि सामूहिक धारणा बनाउन आइतबार दुई दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।
एमाओवादीको प्रस्ताव अविश्वसनीय र यही सरकारलाई निरन्तरता दिने चालबाजीका रूपमा आएको कांग्रेस, एमालेले निष्कर्ष निकालेका छन् । ‘यो सरकारको आयु लम्ब्याउने अभिप्रायले प्रस्ताव आएको छ,’ बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘हामीले त्यो प्रस्तावलाई अस्वीकार गरेका छौँ, राष्ट्रिय सहमतिको सरकार नबनेसम्म निकासका अन्य कुनै विकल्पमा सहमति हुन सक्दैन ।’
पटक–पटक भएका सहमति उल्लंघन गरी एमाओवादीले नयाँ–नयाँ प्रस्ताव ल्याएकाले त्यसलाई विश्वास गर्न नसकिने उनीहरूको ठहर छ । ‘भएका सहमति कार्यान्वयन नगरी ल्याएका कुनै पनि प्रस्तावलाई विश्वास गर्न सकिँदैन,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘सहमतिको सरकार बनाउन प्रधानमन्त्री तयार नभएसम्म विश्वासको आधार खडा हुन सक्दैन ।’ राजनीतिक निकासका विषयमा विगतमा भएका सबै सहमति एमाओवादीले लत्याएकाले सहमतिको राजनीतिक यात्रा संकटमा परेको कांग्रेस, एमालेको ठहर छ ।
संविधानसभा जीवित छँदै विवादित विषय थाती राखेर संविधान जारी गर्ने र बाँकी विषयलाई रूपान्तरित संसद्ले टुंग्याउने प्रस्ताव आºना तर्फबाट आएपछि सरकारले संविधानसभा विघटन गराएको स्मरण कांग्रेस र एमालेले गरेका छन् । संविधानसभा विघटन गराउने एमाओवादीका तर्फबाट अहिले त्यही प्रस्ताव अघि सारिनुलाई कांग्रेस र एमालेले रहस्यमय भनेका छन् । ‘एमाओवादीको प्रस्ताव कुनै नौलो होइन, विगतमा विवादित विषय थाती राखेर संविधान जारी गर्ने कुरा पनि भएको थियो, नयाँ चुनावमा जाने सहमति पनि भएको थियो,’ एमाले उपाध्यक्ष वामदेव गौतमले सौर्यसँग भने, ‘एमाओवादीलाई विश्वास गर्न नसकिएकैले यो प्रस्तावलाई हामीले ठाडै रिजेक्ट गर्‍यौँ ।’ प्रमुख राजनीतिक दलबीच विश्वासको आधार तयार गर्न भट्टराई सरकारको बर्खास्ती र सहमतीय सरकार गठन गरिनुपर्ने उनीहरूको ठहर छ । ‘राजनीतिक सहमतिका लागि विश्वासको आधार तयार गर्न प्रधानमन्त्रीको बर्खास्तगी र सहमतीय सरकार गठन हुनुपर्छ,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘सहमतिको सरकार नबनी एमाओवादीले ल्याएका कुनै पनि प्रस्तावमा छलफल गरेर निकास निस्किन्छ भन्ने हामीलाई विश्वास छैन ।’
एमाओवादी सरकारको आयु लम्ब्याउने र अन्य पक्षलाई अल्मल्याउने रणनीतिमा रहेको उनीहरूले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीले मार्गप्रशस्त नगरेसम्म निकास ननिस्कने दाबी गरेका दुई दलका शीर्ष नेताहरूले प्रधानमन्त्रीको बर्खास्तगीका लागि आन्दोलनको तयारी गर्नेसमेत जनाएका छन् । ‘झुक्याउने र छलछाम गर्ने नियतबाट आएका कुनै पनि प्रस्ताव मान्य छैन,’ गौतमले भने, ‘अब आन्दोलनको तयारी गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
सत्तारूढ एमाओवादी र मधेसी मोर्चासहित चार पक्षको ३ असोजमा भएको बैठकले संविधानसभा पुन:स्थापनाको विकल्प अन्त्य गर्दै नयाँ निर्वाचनमा जाने सहमति गरे पनि पछिल्लोपटक एमाओवादीले पुन:स्थापनाको मुद्दालाई अगाडि सारेको छ । एमालेका पूर्वसांसद् कृष्णलाल महर्जनको बालकुमारीस्थित निवासमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी थिए । यस्तै, एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए ।

प्रतिक्रिया