दसैँमा अपराधको जोखिम

काठमाडौं, ५ कात्तिक । भारतीय आपराधिक समूहले गत सालको दसैँमा कोटेश्वरस्थित इन्द्र बज्राचार्यको गहना पसल चोरी गर्‍यो । पसलबाट झन्डै १९ लाख मूल्य बराबरको धनमाल चोरेर लुटेरा फरार भए । चोरी हुँदै गर्दा बज्राचार्य पसल बन्द गरेर दसैँको रमझममा परिवारसँग मस्त थिए । त्यही समूहले पछि पुलचोकस्थित गुण ज्यास: पसल चोरी गर्ने क्रममा पसलका कर्मचारी जुजु बज्राचार्यको हत्या नै गर्‍यो । त्यो तिहार सकिएलगतैको घटना थियो ।
इचंगुनारायणस्थित सशस्त्र प्रहरी निरीक्षक सूर्यनारायण मण्डलको कोठा चोरी भयो, त्यही सालको दसैँमा । प्रहरी निरीक्षक मण्डलको कोठाबाट सात लाख रुपियाँभन्दा बढी मूल्यबराबरको धनमाल चोरेर लुटेरा फरार भए । दसैँ मनाउन मण्डल धनुषा गएका बेला उनको कोठामा लुटपाट मच्चिएको थियो । गत साल तिहारकै आसपासमा ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालकलाई फोनमार्फत नुवाकोट गेर्खु– ९ का २५ वर्षीय बाबुराम तामाङले धम्क्याउँदै दुई करोड रुपियाँ मागे । हिन्दी भाषामा तामाङले आफू अजरुद्दिन नामक डनको भाइ बदमास भन्दै ज्वेलर्स सञ्चालकलाई ज्यान मार्ने धम्की दिए । तिहारकै आसपासमा ललितपुरस्थित कन्टिनेन्टल मर्कन्टाइल प्रालिका सञ्चालकलाई एसएमएस तथा पर्चाबाट ज्यान मार्ने धम्की आयो । धम्की दिने गोरखा केराबारी–४ निवासी २६ वर्षीय भुलबहादुर गुरुङले पाँच लाख रुपियाँ मागे । दसैँ मनाइरहेका काठमाडौं भोटेबहालका विकास महर्जनलाई ललितपुर नख्खिपोटकी १८ वर्षीय मैया लामाले नशालु पदार्थ ख्वाएर ६ तोला सुनका गहना लुटिन् । तिहारकै आसपासमा क्षेत्रपाटीस्थित दिनेश शाक्यको घरबाट १२ लाख बाराबरको सुनचाँदी लुटियो ।
गत वर्षको दसैँ–तिहारमा भएका आपराधिक घटनाका फेहरिस्तले चाडपर्वका समयमा अपराधी बढी सक्रिय हुन्छन् भन्ने तथ्यतर्फ संकेत गर्छ । यसलाई थप पुष्टि गर्छ, प्रहरीबाट संकलित तथ्यांकले । ०६७/६८ को दसैँ–तिहारमा काठमाडांैमा ६ सय ६६ वटा आपराधिक घटना भए जसमध्ये अधिकांश चोरी–डकैतका घटना थिए । ०६६/६७ को दसैँ–तिहारमा चार सय ६० वटा अपराध भए, त्यसमध्ये पनि अधिकांश चोरी–डकैतकै थिए । यो संख्या अन्य दिनको तुलनामा झन्डै दोब्बर बढी हो । प्रहरी पनि दसैँ–तिहारका बेला धेरै अपराध हुन्छ भन्नेमा सहमत छन् । उनीहरूका अनुसार यतिबेला आर्थिक पक्षसँग जोडिएका अपराध बढी हुने गर्छन् । उनीहरूको तर्क छ, ‘दसैँ–तिहारमा पैसाको आवश्यकता ज्यादा हुन्छ । सबैको आर्थिक अवस्था मजबुत हुन्छ भन्ने छैन । त्यसैले विशेष गरी न्यून आय भएका मानिस यस्ता अपराधमा ज्यादा संलग्न हुन्छन् ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्द चाडपर्वमा अपराध बढ्नुलाई ‘समाजिक उपज’ मान्छन् । उनी भन्छन्, ‘जहाँको सामाजिक संरचना अस्वस्थ हुन्छ, त्यहाँ धेरै अपराध हुन्छन् । स्वस्थ समाज समृद्धशाली हुन्छ, विपन्न समाज अस्वस्थ हुन्छ ।’ चाडपर्वका बेला विशेष गरी चोरी, डकैत, फिरौती असुलीका घटना बढी हुने चन्दको भनाइ छ । चाडपर्वमा घर फर्किंदा नजिकैको प्रहरी चौकीमा घरको लोकेसनबारे जानकारी दिए सम्भावित दुर्घटनाबाट जागिन सक्ने एसएसपी चन्द बताउँछन् ।
सुरक्षाविद् पनि चाडपर्वमा पैसासँग सम्बन्धित अपराध बढ्नुमा असमान सामाजिक संरचनालाई दोषी ठहर्‍याउँछन् । पूर्वडिआइडी तथा सुरक्षाविद् डाक्टर गोविन्द थापा भन्छन्, ‘समाजमा गरिब धेरै छन्, उनीहरूमा धनीको देखासेखी गर्ने चाहना प्रबल हुन्छ । यसका लागि अपराधको बाटो नसमाती धरै छैन ।’ अपराधीले उन्मुक्ति पाउने राज्यको नीतिका कारण पनि यस्ता अपराध ज्यादा हुने गरेको उनको तर्क छ । उनी भन्छन्, ‘चाडपर्वका बेला विशेष गरी आर्थिक अपराधमा संलग्न हुनेलाई माफी दिने चलन छ, कतिपय अवस्थामा राजनीतिक दबाबका कारण पनि अपराधी सजिलै उम्किन्छन्, यसैले पनि अपराध बढेको हो ।’ सबैलाई रोजगारीको ग्यारेन्टीसँगै राज्यसंयन्त्र कडा बने अपराध घट्ने उनको दाबी छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी हिमालयन श्रेष्ठका अनुसार दसैँ–तिहार मनाउन मानिस काठामडौंबाहिर गएको मौका छोपेर भारतका आपराधिक समूह उपत्यका भित्रिने गर्छन् । चाडपर्वमा घरबाहिर जाँदा बहुमूल्य सामग्री साथै लैजान सुझाब दिँदै उनी भन्छन्, ‘हामीले थोरै मात्रै सावधानी अपनाउन सके अपराधको सिकार हुनबाट बच्न सक्छौँ ।’

प्रतिक्रिया