फोहोर मासु बेच्ने व्यापारी कारवाहीमा

नेपालगञ्ज, ३ कात्तिक । बाँके जिल्लाका विभिन्न स्थानमा अव्यवस्थित र फोहार ठाउँमा मासु बिक्री गर्ने व्यापारीलाई स्थानीय प्रशासनले धमाधम कारवाही शुरु गरेको छ ।
बजार अनुगमन समितिले मापदण्ड विपरितका मासु पसल र व्यापारीलाई पक्राउ गरी कानूनी कारवाही गरेको हो । एक सातायता १७ जना मासु व्यवसायी कारवाहीमा परिसकेका छन् । दसैंको मौका छोपेर जथाभावी पशुबध गरेर फोहर स्थानमा राखेर मासु विक्री गर्न थाले पछि स्थानीय प्रशासनले चासो देखाएको हो ।
यसै क्रममा बिहीवार साँझ अव्यवस्थित तरिकाले खुल्ला ठाउँमा मासु बिक्री गर्ने आठ जना बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
संयूक्त बजार अनुगमन उपसमिति कोहपुर, चप्परगौडी, दशबिगाहामा अव्यबस्थित र खुल्ला ठाउँमा पशुबध गर्ने एवम् मासु फोहर अवस्थामा राखेर बेचेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने मासु व्यवसायी हरिप्रसाद लम्साल, झुपलाल थारु, लाल बहादुर रावल, दीपक ढोली, शेरबहादुर खत्री, आजाद राई, दुर्गाप्रसाद थारु र लालबहादुर बुढा रहेका छन् ।
उनीहरुलाई स्थानीय स्वायत्त ऐन २०५५ को दफा १६५(१) ‘ग’ अनुसार सार्वजनिक सडकमा दुर्गन्ध फैलाएको कसुरमा कारवाही चलाउन प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख गोविन्दप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया