पियानिस्ट अदालतमा

इस्तानबुल : ट्वीटरमार्फत इस्लामलाई होच्चाएको आरोप लागेका टर्कीका एक पियानिस्ट तथा संगीतकारले बिहीबार अदालतसामु आरोपसम्बन्धी प्रस्टिकरण दिएका छन् । अन्तर्राष्ट्रिय ख्याती कमाएका फजिल से नाम गरेका ती संगीतकारले इस्लाममा प्रचलित २२ सेकेन्ड लामो प्रार्थनाको खिल्ली उडाएको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो ।
गत अप्रिलमा ट्वीटरमा उनले लेखेका थिए, ‘किन यस्तो हतार ? के घरमा श्रीमतीले पर्खिरहेकी छिन् ? अथवा, टेबलमा मगमगाउने मदिराले तपाईंको प्रतिक्षा  गरिरहेको छ ?’  इस्लाम धर्ममा  मदिरा वर्जित मानिन्छ । त्यसैले मदिराको प्रसंग उल्लेख गरेर प्रार्थना गर्नेको खिल्ली उडाउने काम ती संगीतकारले  गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।
धार्मिक मूल्य तथा मान्यतालाई होच्याएर उनले समाजमा विद्वेष र वितृष्र्णा उत्पन्न गर्न खोजेको आरोप उनमाथि लगाइएको छ । आरोप प्रमाणित भए उनलाई अधिकतम १८ महिनासम्मको काराबास सजाय  हुनसक्छ । कुनै समय युरोपेली युनियनका लागि टर्कीका  सांस्कृतिक राजदूतको ओहदा सम्हालिसकेका संगीतकार सेले आफूमाथि लागेको आरोप खण्डन गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया