नाम फेर्ने कि काम ?

राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको नाम हचुवाको भरमा सरकारले परिवर्तन गर्ने निर्णय गरेपछि उक्त निर्णयको चर्को विरोध सुरु भएको छ । सत्ताको आयु लम्ब्याउने एकसूत्रीय अभिष्ट बोकेका कामचलाउ सरकार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त अस्पतालको नाम नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको नाममा नामसारी गरिदिने निर्णय गरेका थिए । सत्तामा सहभागी मधेसी दललाई खुसी पार्ने उद्देश्यले प्रेरित उक्त निर्णयप्रति सबै क्षेत्रले आपत्ति जनाएका छन् । राष्ट्रको गौरव बोकेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको नामबाट उक्त अञ्चलको नाम सगरमाथा राखिएको हो । र, उक्त अस्पतालको नाम पनि सगरमाथासँग जोडेर अञ्चल अस्पताल बनाइएको हो । तर, प्रधानमन्त्री डा. भट्टराईले महत्त्वपूर्ण र गौरवशाली नाम रहेको उक्त अस्पताललाई पनि सत्ताको आयु लम्ब्याउने माध्यमको रूपमा प्रयोग गरे । यदि, सरकारले आत्मैदेखि चाहेको हो भने अञ्चल अस्पतालको नाम बदलेर गजेनद्रनारायण सिंह अस्पताल बनाइरहनु पर्दैन । त्यो भन्दा भब्य, सुविधासम्पन्न र विरामीका लागि अत्यन्त फलदायी अस्पताल बनाएर त्यसको नाम गजेन्द्रनारायण सिंह अस्पताल राख्दा हुन्छ । अन्यथा, हचुवाका भरमा र बौलठ्ठी तरिकाले सरकारी अस्पतालको नाम फेर्न पाइँदैन । किनकि यो कसैको व्यक्तिगत सम्पत्ति होइन । र, वर्तमान सरकारले लगानी गरेर स्थापना गरेको अस्पताल पनि होइन । तसर्थ, यो सरकारले बिनासहमति कसैको स्वार्थपूर्ति गर्न गरेको उक्त आपत्तिजनक निर्णय फिर्ता लिनुपर्छ ।
गजेन्द्रनारायण सिंह नेपालका राजनीतिज्ञ हुन् । मधेसका लागि उनी एउटा निर्भिक र सर्वमान्य व्यक्ति पनि बने । नेपालका सद्भावना पार्टी खोलेर मधेसी जनताका लागि आवाज उठाउने व्यक्ति मध्ये गजेन्द्रनारायण सिंह पनि एक हुन् । उनीजस्तो एक नेताको नाममा अस्पलतालको नाम राख्नु हुँदैन भनेर कसैले तर्क गर्छ भने त्यो कुतर्क हुन जान्छ । तर, एउटा व्यक्तिलाई सम्मान गर्नका लागि अर्को गौरबशाली इतिहास बोकेको संस्थाको अस्तित्व मेटाउन पाइँदैन । यही कारणले गर्दा अहिले उक्त हचुवाका भरमा गरिएको ‘बाबुराम निर्णय’ सबै क्षेत्र, तह र तप्काले विरोध गरेका हुन् । सरकारले राजविराजमा सुविधा सम्पन्न नयाँ अस्पताल निर्माण गरेर त्यसको नाम गजेन्द्र नारायण सिंह अस्पताल नाम राख्न अहिले नै निर्णय गर्न सक्नुपर्छ । यसरी निर्णय गरेमा कसैले विरोध गर्ने छैनन् । बरु, सबैले समर्थन गर्नेछन् । तर, प्रधानमन्त्री भट्टराईको अहिलेसम्मको कार्य हेर्दा यस्ता शुभकार्यमा लाग्ने देखिँदैन । बरु, उनी जनतालाई ढाँट्ने, छल्ने र दिवास्वप्न देखाउँदै सस्तो लोकप्रियता आर्जन र जनभावनाका साथै राष्ट्रको आवश्यकता नबुझ्ने प्रधानमन्त्रीको सबै निर्णय विवादमा पर्ने देखिन्छ । यसलाई मुलुकको दुर्भाग्य बाहेक केही भन्न सकिँदैन । सस्तो लोकप्रियताका लागि जहाँ पुग्यो त्यहाँ जे सुकै बोल्दै हिड्ने प्रधानमन्त्रीले गत २८ असोजमा राजविराज पुगेका बेला ‘अस्पताल नाम बदल काण्ड’ का कारण आफ्नै कार्यकर्ताबाट खप्की खाए । यसपछि स्थानीय जनता र अन्य दलका स्थानीय कार्यकर्ताले पनि हचुवाको भरमा कामचलाउ सरकारको मन्त्रिपरिषद्को अस्पतालको नाम फेर्ने निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए । वास्तवमा नाम भनेको एउटा चिनारी हो । कतिपय नाम गौरवमय इतिहास बोकेका हुन्छन् । त्यसलाई मेटाउन पाइँदैन । त्यो मेटाउने शक्ति जनतासँग मात्र हुन्छ । अरूसँग हुँदैन । मुलुककै नाम परिवर्तन हुन सक्छ तर, जनताको अभिमतबाट मात्र । यो सबै बुझेका प्रधानमन्त्री भट्टराई हचुवाकै भरमा अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेर त्यस क्षेत्रका जनताको चित्त दुखाएका छन् । सायद यो निर्णय सत्तामा सहभागी मधेसी नेताका लागि पनि प्रत्युत्पादक नै बन्ने  छ । किनभने नयाँ अस्पताल बनाएर त्यसलाई नेता सिंहको नाम दिएको भए प्रधानमन्त्री भट्टराईलाई स्थानीय जनताले स्याबासी दिने थिए । तर, सगरमाथा अञ्चल अस्पताललाई नै गजेन्द्रनारायण सिंह अस्पताल नामाकरण गर्ने निर्णय गर्दा वर्तमान सरकार र सरकारमा सहभागी मधेसी नेताप्रति स्थानीय जनतामा आक्रोस पैदा भएको हो । यो निर्णय कुनै पनि हालतमा लागू गरिनु हुँदैन । यदि, प्रधानमन्त्रीले सत्तामा सहभागी मधेसी नेतालाई खुसी पार्न मात्र त्यसो भनेका हुन् भने ठिकै छ । तर, के कुरामा स्पष्ट हुन जरुरी छ भने जनभावना विपरित सरकारले कुनै काम गर्नु हुँदैन । त्यसैले सगरमाथा अञ्चल अस्पतालको नाम परिवर्तन गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता लिनुपर्छ ।

प्रतिक्रिया