दसैँमा फर्केकाहरू सीमामा लुटिँदै

नेपालगन्ज, ३ कात्तिक । दसैँमा घर फर्किरहेका नेपाली सीमामा लुटिने क्रम बढेको छ । भएको पैसासमेत लुटिएपछि घर फर्किएकाहरू सीमामै बेखर्ची बनेर बिचल्लीमा परेका छन् । लुटिनबाट जोगिएर फर्किएकाले पनि सीमापारिका सुरक्षाकर्मीलाई प्रवेश शुल्कका नाममा पैसा दिनुपरेको छ ।
बुधबार दिल्लीबाट घर फर्किरहेका बाँके, विलौना–४ का खिमबहादुर ओली र विलौना–५ का कमल ओली लुटिएका छन् । मजदुरी गरेर कमाएको पैसा बोकेर दसैँंतिहार मान्न घर फर्किरहेका उनीहरू भारतीय परिवहन निगमको बसभित्रै लुटिएका हुन् । लुटेरा समूहले ‘विश्वास’ मा पारेर साजनपुरनजिक उनीहरूलाई चिसो पेयपदार्थ खुवाएर लठयाएको सीमा प्रहरी चौकी जमुनहाका इन्चार्ज सइ महेन्द्र रानाले बताए ।
‘चिसो खाएपछि रिंगटा लाग्न थाल्यो,’ बिहान होसमा आएपछि कमलले भने, ‘त्यसपछि केही पनि थाहा भएन ।’ खिमको १२ हजार भारतीय रुपियाँ र दुई थान मोबाइल सेट तथा कमलको ७ हजार भारतीय रुपियाँ र एउटा मोबाइल लुटिएको छ । बसमा करिब ७० नेपाली यात्रा गरिरहेका थिए । तिनैमध्येका भारतीय गोर्खा सेनामा कार्यरत सुर्खेत धारापानी–२ का विमल केसी र दैलेख खडकबाडा–९ का भुवनसिंह खड्काले उनीहरूलाई उद्धार गरेर बिहान सीमास्थित जमुनहा प्रहरी चौकीमा ल्याएका थिए । ‘सबै पैसा लुटिएकाले नेपाली यात्रुबाट १ हजार ७ सय ७२ रुपियाँ संकलन गरेर बाटो खर्च जुटाइदियौँ,’ गोर्खा रेजिमेन्टमा कार्यरत
केसीले भने ।
केही दिनअघि मात्र जयपुरबाट फर्किरहेका ६ नेपाली पनि बसभित्र नसालु पदार्थ खुवाएर लुटिएका थिए । प्रहरीका अनुसार, उनीहरूसँग भएको करिब एक लाख रुपियाँ लुटिएको थियो । दसैँंतिहारका लागि जमुनहा–रुपैडिहा नाका भएर दैनिक सरदर एक हजारभन्दा बढी नेपाली घर फर्किइरहेका छन् । ‘यात्रामा लुटिने डर त छँदै छ, नाकामा भारतीय सुरक्षाकर्मी तथा कस्टमले पनि अनावश्यक रूपमा खानतलासी र डर–धम्की देखाउँदै पैसा असुल्न थालेको छ,’ फर्किएकाहरूले गुनासो गरेका छन् ।
‘मसँग १० रुपियाँसमेत लिए,’ सिमलाबाट बुधबार घर फर्केका रोल्पा सिमपानीका पूर्णबहादुर बुढाले भने, ‘सुरुमा एक सय रुपियाँ मागेका थिए । आनाकानी गरेपछि १० रुपियाँ दिएर फुत्किएँ ।’ सीमामा भारतीय प्रहरी, एसएसबी र भन्सारका छुट्टाछुट्टै जाँच ब्यारियल छन् । नेपाली यात्रुलाई तान्दै उनीहरू भित्र तथा छेउतिर लैजान्छन् । नदिए लठ्ठी देखाएर जबर्जस्ती गर्छन् । तर, समूहमा तथा हेर्दा सुकिला र टाठोबाठो जस्ता लाग्नेलाई भने हात नहाल्ने गरेको यात्रुले बताए । ‘सबै ठाउँमा उनीहरूले पैसा मागेर तंग गर्छन्,’ बर्दिया बेलवा–४ का अर्जुन थारूले भने, ‘हामीसँग पनि मागे तर १२ जनाको समूह भएकाले अटेर गरेर हिँडयौँ ।’
रिक्सा र टाँगावालाले पनि यात्रु ठग्ने गरेका छन् । उनीहरूले तोकिएको भाडा दरभन्दा बढी पैसा लिएर ठग्ने गरेका हुन् । दिल्लीको एक कम्पनीमा कार्यरत महेन्द्रनगर ऐठपुरका सन्दीप सिंह बुधबार एक्लै हिँडेर आउँदै थिए । रिक्सावालाले बढी भाडा लिएर ठग्छन् भन्ने सुनेकोले पैदल हिँडेको उनले बताए । दाङ ससुराली जान आएका सिंहले भने, ‘भारतीय बाटो र नाकाको यात्रा सुरक्षित छैन । भारतमा काम गर्ने अधिकांश नेपाली सोझा र यात्रामा सचेत नभएकाले ठगिने गरेका छन् ।’
नेपाल प्रहरीले सादा पोसाकमा सुरक्षाकर्मी खटाएको र भारतीय थानाका थानाध्यक्षसँग समन्वय गरेर यस्ता लुटपाटका घटना रोक्न पहल गरेको जनाएको छ । तर, घटनामा कमी आएको छैन । जमुनहा चौकीका इन्चार्ज रानाले गत वर्षको तुलनामा कमी आए पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको स्विकारे । ‘पारि गएर डयुटीमा बस्न मिलेन । समन्वय र सहकार्य गर्ने हो । त्यो भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया