काठमाडौं, २ कात्तिक । दुई ठूला विपक्षी दलले संविधानसभा पुनःस्थापना गर्न नसक्ने निर्णय गरेको दोस्रो दिन एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेतृत्वबीच राजनीतिक परामर्श भएको छ ।
महाराजगञ्जमा आज विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभपाति सुशील कोइरालाबीच भएको भेटबार्तामा एमाओवादीले मिलिसकेका विषयलाई समेटेर नयाँ संविधान जारी गर्न पुनः प्रस्ताव गरेको हो । त्यसका लागि संविधानसभा पुनःस्थापना गर्न तयार भए कांग्रेसलाई चुनावी सरकारको नेतृत्व दिन सकिने एमाओवादीले दोहराएको छ ।
यद्यपि कांग्रेसले एमाओवादीको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । उसले पहिला वर्तमान सरकारलाई हटाएर कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने अडान राखेको छ । सहमति भएका विषयलाई राखेर नयाँ संविधान जारी गर्न आफू तयार रहे पनि वर्तमान सरकार रहे सम्म निकास आउन नसक्ने कांग्रेसको भनाई छ ।
यसैबीच, एमाओवादीले नयाँ निर्वाचन गराउँदा राष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । उसले राखेको प्रस्तावमा कांग्रेसले ठोस प्रतिक्रिया दिएको छैन ।
भेटबार्ता पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष दाहालले संविधानका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना गरी नयाँ संविधान जारी गर्ने प्रस्ताव गरेको बताए । उनले भने, ‘संघीयता बाहेक सहमति भएका विषय समेटेर नयाँ संविधान जारी गर्न कांग्रेस सहमत भए चुनावी सरकारको नेतृत्व दिन तयार छौं ।’
नयाँ संविधान जारी नभई राष्ट्रिय सरकार गठन हुने हो भने संविधानसभाको ठूलो दलको हैसियतले एमाओवादीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अध्यक्ष दाहालले बताए ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभा पुनःस्थापनाको संभावना सकिएको बताए । उनले भने, ‘कांग्रेस नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने अडानमा छौं ।’
एमाओवादी र कांग्रेसले कात्तिक मसान्तभित्रै सहमति जुटाउन निरन्तर लाग्ने जनाएका छन् । यसका लागि प्रमुख दलबीच दसैं र तिहारमा परामर्श गर्ने सहमति भएको छ । विवादित बाँकी विषय नयाँ निर्वाचित हुने संसद र जनमत संग्रहमा समेत जान सकिनेमा दुबै दल सकारात्मक छन् ।
बुधबार कांग्रेस र एमालेले कात्तिक मसान्तभित्र सहमतीय सरकार गठन नभए आन्दोलनमा जाने निर्णय गरेका थिए ।
भेटबार्तामा कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस महामन्त्री सिटौलाको पनि सहभागिता थियो ।
प्रतिक्रिया