व्यवसायीद्वारा मनपरी मूल्य निर्धारण

दाङ, २ कात्तिक । चाडपर्वमा आमनागरिक नठगिउन् भनेर सरकारले उपभोग्य वस्तुमा मूल्य निर्धारण गरे पनि त्यस्तो मूल्य लागू भएको छैन ।
सरकारले मूल्य निर्धारण गरे पनि व्यवसायीले भने आफूखुसी मूल्य लिने गरेका छन् । सरकारले २८ भदौमा १५ वटा उपभोग्य वस्तुको खुद्रा मूल्य निर्धारण गरेको थियो । उपभोग्य वस्तुको मूल्यमा एकरूपता ल्याउन तथा उपभोक्ता हित एवं सुविधालाई ध्यानमा राखेर मूल्य सुची सार्वजनिक गरेको दाबी सरकराले गरे पनि व्यवहारमा लागू भएको छैन ।
जिल्लामा उद्योग वाणिज्य संघले उपभोक्ताको हितलाई ध्यानमा राखी सरकारले तोकेको र पुरानो मूल्यभन्दा कम उपभोक्ता मूल्य तोकेको छ । सरकारले तोकेको मूल्यबाट प्रतिसामग्री दुईदेखि १० रुपियाँसम्म छुट दिँदा पनि व्यापारीलाई नाफा हुने भन्दै उद्योग वाणिज्य संघले उपभोग्य सामग्रीको खुद्रा मूल्य तोकेको हो । संघले प्रतिसामग्री दुईदेखि १० रुपियाँको छुटसहित २५ वटा दैनिक उपभोग्य वस्तुको खुद्रा मूल्य तोकेको छ ।
वाणिज्य संघले आफ्ना मातहतका व्यापारीलाई तोकेको मूल्यकै आधारमा उपभोग्य सामग्री बिक्री गर्न निर्देशनसमेत दिइसकेको छ । तर, उद्योग वाणिज्य संघको निर्देशनलाई लत्याउँदै जिल्लाका व्यापारीले दैनिक उपभोग्य सामग्रीको आफूखुसी बिक्रीवितरण गरिरहेका छन् । ७ असोजमा सार्वजनिक गरिएको मूल्यमा अहिलेसम्म कुनै थपघट नभएको उद्योग वाणिज्य संघले बताएको छ । यदि कुनै वस्तुको मूल्यमा उतार–चढाव आए त्यसपछि फेरि नयाँ मूल्य सार्वजनिक गरिने संघको भनाइ छ । संघले नै सार्वजनिक गरेको मूल्य प्रत्येक व्यापारीले आमउपभोक्ताले देख्ने गरी मूल्य सूची टाँस्नु पर्ने भए पनि दाङमा कुनै पनि व्यापारीले त्यसको पालाना गरेका छैनन् ।
संघले जिल्लाका सबै गल्ला तथा किराना व्यवसायीलाई उपलब्ध गराएको मूल्य सूची आमउपभोक्ताले देख्नसमेत पाएका छैनन् । उद्योग वाणिज्य संघ र गल्ला तथा किराना व्यवसायी समितिले दिएको बजार मूल्य व्यापारीले उपभोक्तालाई नदेखाउँदा बजार मूल्य आफूखुसी निर्धारण गरिहरेको छ । वाणिज्य संघले हालै मात्र चामल, जिरा, केराउ, चिउरा, चिनी, मैदा, सुजी,, धनिया, आँटा, तोरी तेल, सनलावर तेल, राजमा, चना, सिमी, अडहर, मसुरोका दाललगाएत २५ वटा दैनिक उपभोग्य वस्तुको छुटसहित मूल्य सूची तयार पारेको छ । संघले व्यापारीले आफूले तयार पारेको मूल्य सूची पसलमा टाँस्नु पर्ने र त्यसकै आधारमा उपभोग्य वस्तुको बिक्रीवितरण गर्न भनेको छ, तर बजारमा खुद्रा व्यापारीले यसो गरिरहेका छैनन् । जसका कारण उपभोक्ता आफूले पाउनुपर्ने सेवाबाट वञ्चित भएका छन् ।
घोराहीका एक गल्ला व्यापारीले उद्योग वाणिज्य संघले दिएको मूल्य सूचीको संख्या थोरै भएको कारण पसलमा टाँस्न नपाएको बताए । संघले तोकेको मूल्य आफूसँग भए पनि नटाँसेको उनको भनाइ छ । दाङमा कुनै पनि व्यापारीले मूल्य टाँस नगर्दा उपभोक्तालाई आफूले किन्ने सामग्रीको वास्तविक मूल्य थाहा हुन सकेको छैन । उद्योग वाणिज्य संघको मूल्य सूची र निर्देशन व्यावहारिक रूपमा कार्यान्वयन भएको छैन । बजारमा कुन वस्तु कति मूल्यमा बिक्री भइरहेको छ भन्नेबारे जिम्मेवार निकायले समेत चासो दिएका छैनन् ।
संघका अध्यक्ष मधुसूदन वैद्यले बजारमा आफूहरूले तोकेकै मूल्यमा उपभोग्य सामग्रीको बिक्री नभएप्रति गम्भीर भएको बताए । उनले आफूहरूले उपभोक्तालाई जानकारी गराउन र सुविधा दिन मूल्य सुचीको लिस्ट सार्वजनिक गरेको बताए । सबै खुद्रा व्यापारीलाई मूल्य सूची टाँस्न आफूहरूले निर्देशन दिएको बताए । साथै उनले व्यापारीलाई टाँस्नकै लागि मूल्य सूची वितरण गरेको हँुदा अनिवार्य टाँस्नु पर्ने नियम रहेको समेत बताए । उनले यसो भने पनि जिल्लाका कुनै पनि व्यापारीले मूल्य सूची टाँस गरेका छैनन् ।
किराना व्यवसायी समिति दाङका संयोजक उपेन्द्र खड्काले आफूले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा बिक्री गर्दा पनि उपभोक्तालाई कुनै किसिमको घाटा नपर्ने भन्दै तोकिएभन्दा बढी मूल्यमा बिक्री गरिएको पाइए आफूहरूले कारबाही गर्ने बताए । ७ असोजमा सार्वजनिक गरेको मूल्य सूचीमा अझै पनि थपघट नभएको उनि बताउँछन् । ‘हामीले तोकेको मूल्यभन्दा धेरै मूल्यमा बेचेको पाइए कारवाही गर्छौँ,’ उनले भने ।
उपभोक्ताको हितमा रहेर काम गर्नु सबैको साझा उत्तरदायित्व भएको भन्दै अध्यक्ष खड्काले व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए । उनले मूल्यका विषयमा उपभोक्ताबाट गुनासो आए व्यापारीलाई नै जवाफदेही हुन निर्देशन दिएको बताए । समितिले प्रकाशन गरेको मूल्य सूची सबै उपभोक्ताले देख्न पाउनुपर्ने अधिकार भएको भन्दै खड्काले सबै व्यापारीलाई आ–आफ्नो पसलमा मूल्य सूची टाँसका लागि आग्रहसमेत गरे ।

प्रतिक्रिया