मोदीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

नयाँदिल्ली : भारतको मुख्य विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राम जेठमलानीले आगामी लोकसभा निर्वाचनमा नरेन्द्र मोदीलाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघिसार्न प्रस्ताव गरेका छन् । गुजरातका मुख्यमन्त्रीसमेत रहेका भाजपा नेता मोदीलाई प्रधानमन्त्री बनाउन पार्टी सहकर्मीले औपचारिक रूपमा प्रस्ताव गरिएको यो पहिलोपटक हो । मोदीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने जेठमलानी भारतका ठूला प्रतिष्ठित कानुन व्यवसायीसमेत हुन् ।
नेता जेठमलानीले भाजपा प्रमुख नीतिन गडकरीलाई चिठी लेखेर पार्टीका तर्फबाट मोदीलाई औपचारिक रूपमा प्रधानमन्त्रीको दाबेदार बनाउन आग्रह गरेका हुन् । आफ्नो प्रस्तावबारे पार्टीभित्र छलफल चलाउन उनले गडकरीसँग माग गरेका छन् । आफ्नो प्रस्तावबारे कुरा गर्दै जेठमलानीले मोदीको छवि बिगार्न उनीविरुद्ध अनेक प्रचारवाजी गरिएको दाबी गरेका छन् । ‘मैले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने विषयमा भाजपाका थुप्रै नेतासँग भेटेर कुराकानी गरेको छु । मोदीको उम्मेदवारीमा पार्टीभित्र सहमति जुट्छ भन्नेमा म विश्वस्त छु ।’ जेठमलानीको प्रस्तावबारे टिप्पणी गर्न भाजपा प्रमुख गडकरीलाई आग्रह गर्दा उनले कुनै प्रतिक्रिया जनाउन चाहेनन् ।
पश्चिमी सञ्चारमाध्यमले मोदीलाई भाजपाका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार भनी चर्चा गर्दै आएका छन् । केही साताअघि यस्तै चर्चा चल्दै गर्दा सत्तारुढ कांग्रेस आईले प्रवक्ताले मोदी क्षेत्रीय नेता रहेकाले उनीसँग प्रधानमन्त्री बन्ने हैसियत नभएको आरोप लगाएका थिए । जवाफमा मोदीले कंग्रेस आईका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा चर्चित नेता राहुल गान्धीलाई ‘अन्तर्राष्ट्रिय नेता’को संज्ञा दिँदै व्यंग्य गरेका थिए । उनी अन्तर्राष्ट्रिय नेता भएकाले भारत तथा इटाली दुवैमा राहुलले उम्मेदवारी दिनसक्ने उनले बताएका थिए ।
स्मरण रहोस्, राहुलकी आमा तथा कंग्रेस अध्यक्ष सोनिया गान्धी इटाली मूलकी भारतीय हुन् । त्यसैले भाजपा नेताले बेलाबेलामा सोनियाको राष्ट्रियतामाथि प्रश्न उठाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया