वीरगन्ज, ३० असोज । वीरगन्जस्थित जिडी फर्मास्युटिकल्स औषधि उद्योगका मजदुर र कर्मचारी सोमबारदेखि आमरण अनशनमा बसेका छन् ।
आदर्शनगरस्थित उद्योगको मूलगेटमा सात मजदुर र कर्मचारी आमरण अनशनमा बसेका हुन् । नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनका इकाइ अध्यक्ष रामाकान्तलाल कर्ण, सचिव अरविन्दकुमार पण्डित, कोषाध्यक्ष वीरेन्द्र महत्तो, सदस्य सुनीलकुमार झा, एमालेनिकट जिफन्टका नारायणी अञ्चल सदस्य सुजित श्रीवास्तव, चोकटप्रसाद साह र महेश दुवे आमरण अनशनमा छन् ।
१६ चैत ०६८ मा मजदुर तथा कर्मचारीले उद्योग व्यवस्थापनसमक्ष २१ बुँदे माग पेस गरेका थिए । उद्योग व्यवस्थापनले मजदुरको माग सम्बोधनमा चासो नदेखाएपछि ११ साउन ०६९ मा दिइएको ३० दिने अल्टिेमेटम पनि सकिएको थियो ।
३० दिने अल्टिमेटममा पनि सुनुवाइ नभएपछि मजदुर तथा कर्मचारीले १२ भदौदेखि २६ असोजसम्म उद्योगको मूलगेटमा धर्ना दिएका थिए । २७ र २८ असोजमा मजदुर तथा कर्मचारी २४ घन्टे रिले अनशनमा बसेका थिए । मजदुर तथा कर्मचारी काम ठप्प पारेर हडतालमा उत्रिएपछि उद्योग व्यवस्थापनले सूचना टाँसेर २६ भदौदेखि उद्योग बन्द गरेको छ ।
मजदुर युनियनले अघि सारेको २१ बुँदे मागमा श्रम ऐन कार्यान्वयन गर्दै २ सय ४० दिन काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, २ मंसिर र १ चैत ०६६ मा उद्योग व्यवस्थापन र मजदुर युनियनबीच भएका सहमति कार्यान्वयन गर्नुपर्ने, महंगी भत्ता वृद्धि गर्नुपर्ने लगायत छन् । यस्तै वीरगन्जको उद्योगमा कार्यरत सबै मजदुर तथा कर्मचारीलाई परवानीपुरस्थित उद्योगको युनिट–२ मा स्थानान्तरण गर्नुपर्ने र घरभाडाबापत एक हजार रुपियाँ वृद्धि गर्नुपर्ने लगायत माग छन् ।
उद्योग व्यवस्थापन र मजदुर युनियनबीच २ मंसिर ०६६ मा भएको लिखित सहमतिमा दुईवटामध्ये कुनै एउटा उद्योग बन्द भएको अवस्थामा बन्द हुने उद्योगका कर्मचारी मजदुरलाई अर्को उद्योगमा स्थानान्तरण गर्ने सहमति भएको थियो । जिडी फर्मास्युटिकल्सको आदर्शनगरस्थित युनिट–१ मा ३६ र परवानीपुरस्थित युनिट–२ मा ३० मजदुर कर्मचारी छन् ।
उद्योग व्यवस्थापन र मजदुर युनियनबीच यसअघि पटकपटक भएका सहमति कार्यान्वयन नभएका कारण आफूहरू बाध्य भएर आमरण अनशनमा बस्नुपरेको इकाइ अध्यक्ष कर्णले बताए । इकाइ अध्यक्ष कर्णले पुरानो सम्झौताअनुसार तलब उपलब्ध गराउन माग गरेपछि उद्योग व्यवस्थापनले साउन महिनाको तलबभत्तासमेत रोक्का गरेको बताए ।
‘अरू उद्योगका कर्मचारी अहिले दसैँ बोनस बुझ्नमा व्यस्त छन् तर हामी आमरण अनशनमा बसिरहेका छौँ,’ आमरण अनशनमा बसेका मजदुर सुनीलकुमार झाले भने, ‘दसैँ आमरण अनशनमै बित्नेभो ।’
उद्योगका सञ्चालक घनश्याम दास चाचानले मजदुर कर्मचारीले अनावश्यक माग राखेर बखेडा झिकेको बताए । काम नै ठप्प पारेर हडतालमा उत्रिएपछि उद्योग बन्द गर्न बाध्य भएको उनले बताए ।
प्रतिक्रिया