मनोजको ‘शेख’ अवतार

काठमाडौं : स्टेजहरूमार्फत दर्शकश्रोतालाई हँसाउँदै आएका कलाकार मनोज गजुरेल अब सिरियलमा देखिन थालेका छन्, त्यो पनि बिल्कुलै पृथक् गेटअपमा । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘सिस्नोपानी’ मा उनी गत शनिबारदेखि देखिन लागेका हुन् ।
पूर्वराजादेखि, प्रचण्डलगायत थुप्रै नेताको दुरुस्तै हाउभाउमा क्यारिकेचर गरेर चर्चा कमाएका यी ‘क्यारिकेचर किङ’ सिस्नुपानीमार्फत अभिनय क्यारियरलाई पनि अगाडि बढाउने तयारी गरिरहेका छन् । ‘अब यो सिरियलमार्फत नियमित रूपमा दर्शकमाझ आउनेछु,’ उनले भने । उनी नेपालमा बिल्कुलै नौलो लाग्ने अरबी शेखको प्रमुख भूमिकामा प्रस्तुत भइरहेका छन् । अर्जुन घिमिरे र कुमार कट्टेलले संयुक्त रूपमा यो सिरियलको निर्देशन गरिरहेका छन् । हास्यव्यंग्यलाई मनोरञ्जनात्मक र सन्देशमूलक ढंगले टेलिभिजनको पर्दामा पस्किने योजना मनोजले सुनाए । पछिल्लो समय विज्ञापनमार्फत पनि टेलिभिजन पर्दामा देखिँदै आएका मनोजले भने, ‘अबका दर्शक स्तरीय हास्यव्यंग्यमा मात्र रमाउँछन्, सिस्नुपानीमार्फत तिनै कुरा पस्कन सुरु गरेका छौँ ।’
सिरियलमा मनोजका अलावा अर्जुन घिमिरे, कुमार कट्टेल, सुष्मा कार्की, ज्योति काफ्ले, अंशु महर्जन, सिपी बुढाथोकी, सुष्मा कार्की, शुभाष गजुरेल, वासु पोखरेल, हरीश भट्ट, यामबहादुर थापा, उत्तम कोदे, नरेन्द्र खड्काथोकीलगायत कलाकार छन् । सिरियलका एक निर्देशक अर्जुन भन्छन्, ‘बग्रेल्ती कमेडी सिरियलबीच छोटो अवधिमै लोकप्रिय बनेको सिस्नुपानीमार्फत दर्शकलाई फरक स्वाद पस्किनेछौँ ।’ (सौस)

प्रतिक्रिया