आजबाट हिन्दी चलचित्र चल्ने

काठमाडौं : आज शुक्रबारबाट नेपाली हलमा हिन्दी तथा नेपाली चलचित्रको प्रदर्शन सुचारु हुने भएको छ । नेकपा–माओवादीले लगाएको अवरोधका कारण अघिल्लो सातादेखि नेपाली हलमा विदेशी चलचित्रको प्रदर्शन रोकिएको थियो । माओवादीसँग गत बुधबारसम्म मात्र विदेशी चलचित्र रोक्ने सहमति भएको नेपाल चलचित्र संघका महासचिव प्रदीप उदयले जानकारी गराए । ‘बिहीबार कुनै पनि हिन्दी चलचित्र रिलिजमा नआउने भएकाले आज शुक्रबारबाट प्रदर्शन गर्ने भएका हौँ,’ उनले भने ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी र अहिले अंग्रेजी चलचित्रमा रोक लगाइएको नेकपा–माओवादीले बताउँदै आएको थियो । माओवादीले नेपाललाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्रविरुद्ध आन्दोलन घोषणा गरेको हो । नेपालमा प्रदर्शन गर्न उपयुक्त भए/नभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै चलचित्र प्रदर्शनमा रोक लगाउने भन्दै आएको माओवादी अन्त्यमा दश दिन मात्र प्रदर्शन रोक्न सहमत भएको थियो । (सौस)

भारतीय सिरियल बन्द गर्न माग

काठमाडौं : परिवर्तन नेपालले नेपालमा भारतीय टेलिशृंखला प्रसारण बन्द गर्न माग गरेको छ । भारतीय टेलिसिरियलहरूले नेपाली महिलालाई अगाडि बढ्न अवरोध गरेको आरोप लगाउँदै संस्थाले यस्तो माग गरेको हो । परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाको हस्ताक्षरसहित बिहीबार जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ । नेकपा (माओवादी) ले उठाएको नेपालमा भारतीय नम्बरप्लेटका गाडी र हिन्दी सिनेमा रोक्नुपर्ने मागलाई समर्थन गर्दै परिवर्तन नेपालले सिरियल पनि रोक्नुपर्ने माग विज्ञप्तिमा गरेको छ ।
परिवर्तन नेपालले पछिल्लोपटक भारतीय हस्तक्षेपकै कारण नेपाल संवैधानिक शासनविहीन अवस्थामा पुगेकाले राष्ट्रिय स्वाभिमान रक्षाको अभियानअन्तर्गत हिन्दी चलचित्रसँगै टेलिसिरियल पनि बन्द गर्नुपर्ने माग गरिएको विज्ञप्तिमा स्पष्ट पारेको छ ।
‘सामाजिक, सांस्कृतिक रूपमा कुनै पनि अर्थ, मूल्य र मान्यता नभएका तथा काल्पनिक कथामा आधारित यस्ता टिभी सिरियलका कारण महिलालाई चुल्होचौकाबाट बाहिर निस्कन समस्या भएकाले महिलाको सिर्जनाशीलताको विकास र कार्यदक्षता वृद्धि गर्न भारतीय टिभी सिरियल बन्द गर्न आवश्यक रहेको छ,’ वक्तव्यमा उल्लेख छ । (सौस)

प्रतिक्रिया