युएईविरुद्ध नेपालको अग्निपरीक्षा

काठमाडौं, २६ असोज । युनाइटेड अरब इमिरेट्सको शारजहाँ क्रिकेट मैदान । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का खेलहरू सबैभन्दा बढी आयोजना हुने स्थान । यही मैदानमा नेपाल शुक्रबार एसियाली क्रिकेट काउन्सिल (एसिसी) को सिनियर मेजर प्रतियोगितामा रहेको उपाधिविहीन यात्रा घरेलु टोली युएईलाई हराएर टुंग्याउने प्रयास गर्दै छ । र, यस्ता प्रयास विगतमा नेपालले गरे पनि यसपटक भने सायद प्रतिद्वन्द्वी युएईसमेत नेपाल पुन: असफल हुने कुरामा भने त्यति निश्चिन्त छैन ।
शारजहाँमै भएको समूहको पहिलो खेलमा युएईलाई हराएर नेपालले सिनियर एकदिवसीयमा युएईविरुद्धको निरसयात्रा समाप्त मात्र गरेन, साविक उपविजेताका रूपमा नेपालले जारी एसिसी ट्रफी एलिटको उपाधिका लागि बलियो चुनौती पेस गरेको थियो ।
एसोसिएट टोलीहरूमध्ये विश्वस्तरमै निकै अगाडि बढ्दै हाल वल्र्ड क्रिकेट लिग डिभिजन वन (च्याम्पियनसिप खेलिरहेको) मा रहेको युएईविरुद्ध भिड्दा नेपालले भरखरै लेखिएको यसै इतिहासलाई निरन्तरता दिने प्रयास गर्नेछ भने युएई पुरानो इतिहास दोहोर्‍याउने कोसिसमा हुनेछ ।
ब्याटिङमा नेपाली टोलीको बेजोड प्रदर्शन कायमै छ । खासगरी आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरमा गरेको ब्याटिङ प्रदर्शनलाई नेपालले खस्कन दिएको छैन । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटाको उच्च लय विपक्षीलाई टाउकोदुखाइ बन्ने निश्चित छ । शरद भेषवाकर लयमा फर्किसकेका छन् भने अनिल मण्डलले पनि सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । छोटो समयमा आक्रामक ब्याटिङ गर्दै विपक्षीलाई दबाबमा राख्ने प्रदीप ऐरीको क्षमता कायमै छ भने स्पिनर वसन्त रेग्मीले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल लयबाहिर हुँदा नेपालको सुरुआतलाई लिएर चिन्ता हुनु अस्वाभाविक हुनेछैन । पाँच खेलमा २६० रन जोडेर जारी प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका पारसले नौ विकेट लिएर आफूलाई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रूपमा दाबेदारी दिइरहेका छन् । शक्ति गौचन, वसन्त रेग्मी, भुवन कार्कीलगायत स्पिनर पनि नेपाली टोलीको बलिङ हतियार हुने निश्चित छ ।
पहिलो खेलमा नेपालविरुद्ध हार व्यहोरे पनि युएईले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । अझ सेमिफाइनलमा साविक विजेता अफगानिस्तानलाई सानदाररूपमा पराजित गरेको युएई उच्च मनोबलमा छ । भरखरै टी–ट्वान्टी विश्वकप खेलेको अफगानिस्तानलाई युएईले ७० रनमा सीमित गरेको थियो । सन् २००० देखि लगातार चारपटक विजेता बनेको उक्त टोली सन् २००८ को संस्करणमा फाइनलमा पुगे पनि उपाधि भिडन्तमा हङकङसँग पराजित भएको थियो । गत संस्करणमा भने उसको यात्रा निरसरूपमा समूहचरणमा सीमित भएको थियो । अलराउन्डर अर्सद अली र स्पिनर अहमद रजा नेपाललाई चिन्ताको विषय बन्ने पक्का छ । रजाले १२ र अलीले आठ विकेट लिएका छन् । युएइका लागि जारी प्रतियोगितामा सइमन अनवरले पाँच खेलमा १७४ रन जोडेका छन् ।

प्रतिक्रिया