सर्वोत्कृष्ट कर्मचारीले नै नियम तोडे

काठमाडौं, २६  असोज । सरकारले सर्वोत्कृष्ट घोषणा गरेका कर्मचारी नै नियमविपरीत काम गर्छन् भने अरूले के गर्लान् ? गत वर्ष निजामती कर्मचारीमध्येबाट उत्कृष्ट घोषणा भएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमले लोकसेवाको लिखित परीक्षामा आफ्नै पत्नीको कपी जाँचेर पास गराएको खुलासा भएको छ ।
गत वर्षको एसएलसी परीक्षाको नतिजा व्यवस्थित र समयमै सार्वजनिक गरेको भन्दै सरकारले गौतमलाई नगद दुई लाख रुपियाँको धनराशिसहित उनलाई सर्वोत्कृष्ट घोषणा गरेको थियो । गौतमको हर्कतले सरकारले दिएको सम्मानकै बेइज्जत गरेको छ । गौतमलाई पूर्वशिक्षा सहसचिव रामस्वरूप सिन्हाले समेत साथ दिएको पाइएको छ । सिन्हाले पनि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको कपी आफै जाँच गरी छोरीलाई पास गराएका हुन् ।
गौतमकी पत्नी इन्दिरा ढकाल गौतम तथा सिन्हाकी छोरी अन्तिमा कुमारीले आयोगको विज्ञापन नम्बर २५८८–२५९३/०६८–६९ अनुसार शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गतको विद्यालय निरीक्षक पदमा लिखित परीक्षा दिएका थिए । लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका, २०६७ को अनुसूची १९ को उत्तरपुस्तिका परीक्षण गरी पठाउने अनुरोधपत्रको बुँदा नं ८ मा परीक्षणकर्ताको कुनै नातेदारले परीक्षा दिएको भए सिलबन्दीरूपमा नै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्ने उल्लेख छ । दुवैले नियतवश नै उत्तरपुस्तिका परीक्षण गरेको भन्न सकिने निष्कर्ष निकाल्दै लोक सेवा आयोग परीक्षा महाशाखाले दुवै परीक्षार्थीको उल्लिखित परीक्षा रद्द गरेको छ ।
सो पदको परीक्षाको प्रश्नपत्र परिमार्जन कार्यमा गौतम र सिन्हाको संलग्नता रहेकाले पनि उनीहरूको नियत सफा नरहेको भन्न सकिने आयोगको ठहर छ । आयोगले उनीहरूले आफ्नालाई पास गरेको अनुसन्धानबाट खुलेपछि दुवैको परीक्षा रद्द गर्ने निर्णयमा पुगेको पनि स्पष्ट पारेको छ ।
यसैबीच पूर्वसहसचिव सिन्हाले आफूले नियतवश आफ्नी छोरीको कपी नजाँचेको दाबी गरेका छन् । सौर्यसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिन्हाले भने, ‘हामीलाई कोड नम्बर उल्लेख गरेर प्रश्नपत्र दिइएको थियो, त्यसमा छोरीको पनि कपी छ भन्ने जानकारी भएन ।’ उनले यसबारे आफू अदालत पनि जाने उल्लेख गरे ।

प्रतिक्रिया