राष्ट्रिय सुटिङ प्रतियोगिता सम्पन्न

काठमाडौं : ओलम्पियनद्वय सुनसरीका टीकाराम श्रेष्ठ र रूपन्देहीकी स्नेहा राज्यलक्ष्मी राणाले राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । दुवैले १० मिटर एयर राइफलको क्रमश: पुरुष र महिलामा स्वर्ण जितेका हुन् । टीकाले ६ सय ५७ अंक जोडे । दोस्रो भएका नेपाल आर्मीका कृष्ण घोरासैनीले ६ सय ५२ तथा तेस्रो स्थानका नेपाल प्रहरीका हरिबहादुर थापाले ६ सय ४४ अंक बनाए । यसमा कुल २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा १३ प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो भएकी स्नेहाले ४ सय ८० अंक जोडिन् । प्रहरीका ओलम्पियन फूलमाया क्याप्छाकी दोस्रो तथा दुर्गा सिञ्जाली तेस्रो भए । फूलमायाले ४ सय ७६ तथा दुर्गाले ४ सय ६८ अंक हासिल गरे ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको १० मिटर एयर पेस्तोलमा आर्मीका कुवेर केसीले ६ सय ४०, आर्मीकै सूदन खड्काले ६ सय ३९ तथा धनुषाका विवेकराज ढुंगेलले ६ सय २४ अंक बटुल्दै क्रमश: शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धामा २१ खेलाडी भिडेका थिए ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको महिलाको
१० मिटर एयर पेस्तोलमा प्रहरीकी सरस्वती बानियाँ पहिलो, बाग्लुङकी श्रेया सकेसी दोस्रो तथा प्रहरीकै सीमा तुलाधर तेस्रो भए । उनीहरूले क्रमश: ४ सय ३९, ४ सय ३८ र ४ सय ३३ अंक बटुले । यस स्पर्धामा ११ खेलाडी सहभागी थिए । पुरुषको ७ सय (पहिलो चरणमा ६ सय र फाइनलमा १ सय) तथा महिलामा ५ सय (पहिलो चरणमा ४ सय र फाइनलमा १ सय) पूर्णांकमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शीर्ष ६ स्थानभित्र अटाएका खेलाडी फाइनलमा पुन: १०० पूर्णांकमा प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ७ हजार तथा तेस्रो हुनेले ५ हजार रुपियाँ नगद पुरस्कार हात पारे । (सौस)

प्रतिक्रिया