रुसद्वारा नेटोसमक्ष ग्यारेन्टी माग

मस्को : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले निर्माण गर्न लागेको क्षेप्यास्त्र निरोधी प्रणाली रुसविरुद्ध प्रयोग हुँदैन भन्ने ग्यारेन्टी रुसले पुन: मागेको छ । अमेरिकाको अग्रसरतामा रुसको छिमेकी राष्ट्र पोल्यान्डमा नेटोले क्षेप्यास्त्रनिरोधी प्रणाली निर्माण गर्ने तय गरेयता रुसले यसप्रति आपत्ति जनाउँदै आएको छ । अमेरिका र नेटोले इरानको क्षेप्यास्त्रबाट युरोपलाई जोगाउन क्षेप्यास्त्रनिरोधी प्रणाली निर्माण गर्न लागिएको दाबी गर्दै आएका छन् । तर, रुसले उक्त प्रणाली आफूविरुद्ध प्रयोग हुँदैन भन्ने लिखित प्रतिबद्धता माग गरे पनि नेटोले अस्वीकार गर्दै आएको छ ।
रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले रुसी संसद्को माथिल्लो सदनलाई बुधबार सम्बोधन गर्दै भने, ‘नेटोको क्षेप्यास्त्रनिरोधी ढाल युरोप तथा एटलान्टिक क्षेत्रबाहिरबाट आइलाग्ने सुरक्षा चुनौती सम्बोधन गर्नेतर्फ लक्षित छ भन्ने ग्यारेन्टी नेटोले गर्नुपर्छ ।’ भौगोलिक तथा प्राविधिक दुवै दृष्टिकोणले न्यायसंगत देखिने भरपर्दो ग्यारेन्टी आफूहरूले खोजेको उनले उल्लेख गरे । यस विषयमा पश्चिमी राष्ट्रहरूसँग छलफल गर्न आफूहरू तयार रहेको उनले बताए । मौजुदा अवस्थामा निर्माण गरिने क्षेप्यास्त्रनिरोधी ढाल रुसविरुद्ध लक्षित हुने ठहर रुसी अधिकारीले गरिसकेका छन् । ढालबाट सुरक्षा चुनौती आइलाग्ने देखे ढालमाथि धावा बोलिने चेतावनी उनीहरूले दिइसकेका छन् ।
पोर्चुगलमा सन् २०१० मा भएको नेटो सम्मेलनले युरोपमा महाद्वीपीय क्षेप्यास्त्रनिरोधी प्रणाली निर्माण गर्ने निर्णय गरेको थियो । निर्माण प्रक्रियामा सरिक भई युरोपको सुरक्षामा सरिक हुन सम्मेलनले रुसलाई समेत आग्रह गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया