सिडिओ कार्यालयमा इजलास कक्ष

जाजरकोट, २५ असोज । बुधबार दिउँसो कालो कोट र शिरमा ढाका टोपी लगाएका भलादमी देखिने एक व्यक्ति कोठाभित्र कापी, कलम र टेबुलमा नेपाली कागज लिएर ध्यानमग्न भएर बसिरहेका थिए । कोठा थियो सिडिओको कार्यालय । अनि उनको सिधा अगाडि कालो कोट लगाएका अरू दुई व्यक्ति हातमा ठूलै फाइलको पोको लिएर उपस्थित थिए । कोठाको एक छेउमा दुई व्यक्ति अनुहार निन्याउरो लगाएर बसिरहेका थिए । अर्का एक व्यक्तिले घन्टी बजाउनेबित्तिकै कालो कोट लगाएका व्यक्ति पालैपालो बोल्न थाले । तर्क–वितर्क राख्न थाले । यो दृश्य सिडिओ कार्यालय जाजरकोटले स्थापना गरेको छुट्टै इजलास कक्षको थियो । बुधबार कक्षमा सरकारी वकिल केशवराज चपाईं, ‘वादी’ र कानुन व्यवसायी छविराज शर्मा ‘प्रतिवादी’का तर्फबाट आºना ‘नजिर’ पेस गर्दै बहस गरिरहेका थिए । सिडिओ कृष्णश्याम बुढाथोकी नजिरको फैसला गर्न ध्यान दिएर उनीहरूको ‘नजिर’ हेरिरहेका थिए र सुनिरहेका थिए । बहस हातहतियार तथा खरखजानाको अभियोग लागेका दिनेश सिंह र गणेश भँडेलको विषयमा हुँदै थियो । सिडिओ कार्यालय जाजरकोटले यसअघि नै इजलासको सुरुआत गरे पनि छुट्टै इजलास कक्षको व्यवस्था गरी बहस गरिएको पहिलोपटक हो । कार्यालयको कार्य सम्पादनलाई व्यवस्थित गर्न छुट्टै कक्ष स्थापना गरिएको सिडिओ बुढाथोकीले जानकारी दिए । यसले कार्यालबाट सम्पादन हुने कामको विशिष्टीकरणमा सहयोग पुग्ने उनको विश्वास छ । ‘अब जिल्लाबाट फैसला हुन सक्ने हातहतियार तथा खरखजाना, सार्वजनिक अपराधलगायत विभिन्न मुद्दाको यसरी नै बहस र फैसला हुन्छ,’ सिडिओ बुढाथोकीले भने । बुधबार गरिएको बहसको फैसला भने कार्यव्यस्तताका कारण बिहीबार मात्र हुने उनले जानकारी दिए । नेपाल न्याय सेवा तालिम केन्द्र बबरमहल काठमाडौंले केही महिनाअघि देशका सिडिओलाई दिएको कानुन र न्यायसम्बन्धी तीनमहिने तालिममा सहभागी भएपश्चात् जिल्लामा यस्तो कामको सुरुआत गरिएको उनले जानकारी दिए । बेला–बेला पुनरावेदन अदालतबाट अनुगमनमा आउने र यस्तो नगरिएको पाइएमा कारबाही हुने भएकाले पनि यो कार्य बाध्यात्मक भएको सिडिओ बुढाथोकीको भनाइ छ । कार्यालयले छुट्टै इजलास कक्षको स्थापना गरी काम गर्दा अन्य सेवाग्राही पनि मर्कामा नपर्ने र अभियुक्तलाई समेत आत्मसन्तुष्टि हुने उनको तर्क छ । यस्तै, कानुन व्यवसायी छविराज शर्माले सिडिओ कार्यालयको यो कदमले कानुनको प्रत्याभूति हुने मौका मिलेको बताए । कार्यालयले छुट्टै इजलास कक्ष स्थापना गरे पनि कोठा अलि साँघुरो भएको कानुन व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया