अमेरिकासम्म मार हान्नसक्ने दाबी

प्योङयाङ : अमेरिकी भूमिसम्म मार हान्नसक्ने क्षमताका हतियार आफूसँग रहेको दाबी उत्तर कोरियाले गरेको छ । उच्च सरकारी अधिकारीको हवला दिँदै कोरियाली समाचार संस्था केसिएनएले मंगलबार यस्तो दाबी गरेको हो ।
केसिएनएले जनाएअनुसार उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय प्रतिरक्षा आयोगका प्रवक्ताले कोरियाली शास्त्रगारमा रहेका रकेटको मारक क्षमता प्रभावकारी छ र यसले अमेरिकी भूमिमाथि पनि निसाना लगाउन सक्छ । अमेरिकासहित छिमेकी मुलुक उत्तर कोरिया र जापानमाथि प्रहार गर्न उत्तर कोरिया सक्षम रहेको समाचारमा जनाइएको छ ।
‘अमेरिका र उसका पिछलग्गुले हामीमाथि परमाणु हमला गरेको खण्डमा परमाणु हतियारका सहयोगले प्रतिरोध गर्न हामी तम्तयार छौँ । उनीहरू परमाणु हतियार लिएर आइलागे हामी परमाणु हतियारले लिएर जाइलाग्छौँ, क्षेप्यास्त्र लिएर आए क्षेप्यास्त्रकै सहयोगले प्रतिरोध गछौँ,’ आयोगका प्रवक्तालाई समाचारमा उद्धृत गरिएको छ । एसियाको सामरिक सञ्जालमाथि कब्जा जमाउने अमेरिकी नीतिको आलोचना गर्दै कोरियाले युद्ध भड्किएको खण्डमा ‘विश्वले आजसम्म नसुनेको र नसोचेको युद्धको तित्तता’ अनुभव गराइदिने चेतावनीसमेत दिइएको छ ।
दक्षिण कोरिया र अमेरिकाबीच दक्षिण कोरियाको शास्त्रगारमा रहेका क्षेप्यास्त्रको क्षमता विस्तार गर्ने विषयमा सहमति बनेपछि यसप्रति प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । नयाँ सहमतिअनुसार दक्षिण कोरियाले आठ सय किलोमिटरसम्म मार हान्नसक्ने गरी आफ्ना क्षेप्यास्त्रको स्तरोन्नति र नयाँ क्षेप्यास्त्र निर्माण गर्न सक्नेछ । उक्त क्षमताको क्षेप्यास्त्रमार्फत कोरियाली प्रायद्वीपको जुनसुकै भूभागलाई दक्षिण कोरियाली क्षेत्रप्यास्त्रले निशाना बनाउनसक्छ । (एजेन्सी)

प्रतिक्रिया