शिशुहत्या आरोपमा युवती पक्राउ

नेपालगन्ज, २४ असोज । कोहलपुरमा एक युवती आफूले जन्माएको शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् । शिशुको जन्मपछि युवतीले हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोहलपुर ड्राइभरटोलकी २२ वर्षीया सीता (नाम परिवर्तन) ले पाँच महिनाको अवधिमा जन्मेको शिशुको हत्या गरी खाल्डोमा पुरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
अघिल्लो मंगलबार बिहान शिशुको जन्म भएको कोहलपुर प्रहरीले जनाएको छ । कसैलाई खबर नगरी ती युवतीले आफ्नै घरनजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् । युवती अविवाहित हुन् । शुक्रबार बिहान शिशुको शव स्थानीयवासीले फेला पारेका थिए ।
कुकुरले खाल्डो उधिनेर शव बाहिर निकालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती युवती र एक युवकबीच भएको शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी थिइन् । केटाले विवाह गर्ने आश्वासनमा युवतीसँग सम्बन्ध कायम गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
युवक रोजगारीको सिलसिलामा भारतमा छन् । प्रहरीले शिशुको अनुहार र लिंग छुट्टिएको अवस्थामा शव भेटिएको थियो । शिशु छोरी भएको प्रहरीले जनाएको छ । प्लास्टिकमा बेरिएको अवस्थामा शव गन्हाउने स्थितिमा प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको हो ।
युवतीले मृत अवस्थामा जन्मिएकोले शिशुलाई गाडेको प्रहरीसमक्ष बयान दिएकी छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशकुमार बस्नेतले अनुसन्धान भइरहेको बताए । शिशुको हत्या गरेको वा जन्मँदै मरेको यकिन गर्न पोस्टमार्टम रिपोर्ट सहयोगी हुने बताए । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । उनले ती युवतीलाई भू्रणहत्याअन्तर्गत मुद्दा चलाइने बताए ।

प्रतिक्रिया