दसैंका लागि भारतबाट फर्किदै कामदार

नेपालगन्ज, २३ असोज । दसैँ नजिकिदै गर्दा मुग्लान पसेका नेपाली कामदार घर फर्कन थालेका छन् ।
नेपालगन्ज नाका भएर भारतबाट घर फर्किने नेपालीका कारण अन्य दिनभन्दा निकै भिडभाड देखिन थालेको छ । कोही गाडीमा त कोही हिँड्दै नेपालगन्ज हुँदै आ–आफ्नो गन्तव्यतर्फ जान थालेका छन् । नेपालगन्ज बसपार्कवरपरका होटलसमेत यतिबेला खचाखच भरिएका छन् । एक सातायता दैनिक दुई हजारसम्म नेपाली भारतबाट घर फर्किएको नेपाल–भारत सिमानामा रहेको जमुना प्रहरी चौकीका इन्चार्ज महेन्द्र रानाले जानकारी दिए । ‘अहिले स्वदेश फर्किनेको घुर्इंचो छ । मुग्लानबाट फिर्ने अझै बढ्दै छन् ।’ वर्षासँगै घरमा खाने अन्नपात सकिएपछि मध्यपश्चिमका पहाडि जिल्लाबाट उनीहरू हरेक वर्ष मुग्लान जाने गर्छन् । आर्थिक स्थिति कमजोर भएकाहरू असार, साउन महिनासँगै घरमा खाने खाद्यान्न नभएपछि कमाइका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । दसैँ–तिहार मनाउन उनीहरू घर फर्किन्छन् । भारतको हिमाञ्चल प्रदेशमा काम गर्दै आएका सुर्खेत सहारे–८ का रमेश पुन चार वर्षपछि दसँै–तिहार मनाउन घर फर्किन पाउँदा खुसी छन् । ‘कमाई गर्ने भन्दाभन्दै चार वर्ष कटेको थाहै भएन् । चारवटा दसँै प्रदेशमा मनाउँदा खल्लो भयो । यसपटक त आफ्नै गाउँमा खुब रमाइलो गरिन्छ,’ रानाले भने ।
मुग्लान जानेमा रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका बासिन्दा रहेका छन् । उनीहरू स्याउको मौसम भएका बेला भारतको गढवाल, चन्डिगढ र सिम्लामा स्याउ टिप्न जान्छन् । स्याउको सिजन सकिएपछि घर फर्किन्छन् । त्यहाँ जानेमा महिला, पुरुष र बालबालिका रहेको छन् । सल्यान कोटमौल्लाका रणवीर शाहीले गरिब भएकाले वर्ष दिनसम्म खानै नपुग्ने हुुनाले कमाउनलाई भारत गएको बताए । उनले भने, ‘घरमा खाद्यान्न किनमेल गर्न, पैसाको जोहो गर्न हरेक वर्ष भारता जान्छौँ र दसैँ मनाउन फर्कन्छौँ ।’ वर्षदिन भारतमा पसिना बगाएर दसँै तिहार मनाउन घर फर्किएका नेपाली बाटोमा असुरक्षित छन् । विभिन्न नशालु चिज खुवाएर भारतको रेल र बसमा उनीहरू लुटिने क्रम पनि जारी नै रहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया