अर्थबजार

दाउरा बेचेर घरखर्च

सौर्य अनलाइन २०६९ असोज २२ गते ०:२४ मा प्रकाशित

नेपालगन्ज, २२ असोज । भाले बास्यो कि उज्यालो हुन नपाउँदै उजेली थापा हातमा हँसिया र डोरी लिएर जगंलतिर दौडिन्छिन् । उनि आफ्नो घरमा खाना पकाउनलाई जंगलमा दाउरा लिन भने गएकी होइनन्, सौख पनि थिएन उनलाई ।
परिवार पाल्न गाह्रो भएपछि घरमा साँझबिहानको छाक टार्नका लागि जोहो गर्न उनी जंगल जान्छिन् । बिहानै उठेर जंगल जानु, हँसिया र दाउरासँग खेल्नु उजेलीको दैनिकी भएको छ । कोहलपुर–८ पिपरी बाँके निवासी उजेलीको ११ जनाको परिवार छ । दाउरा बेचेर आएको पैसाले नै उनको परिवारको गुजरा चलेको छ ।
‘धनीलाई त केको चिन्ता गरिबले पो भोग्नुपर्दो रहेछ सबै दु:ख,’ नेपालगन्जस्थित धम्बोझी चोकमा दाउराको भारी बिसाउँदै उजेलीले भनिन्, ‘दाउरा बेचेको पैसाले चामल, दाल किन्छौँ, यसैबाट सबै परिवार पालिएको छ ।’
भोकभोकै एकाबिहानै घरबाट निस्कने गरेकी उनको आधा दिन त जंगलमै बित्छ । दाउराको खोजीमा उनी निकै टाढाटाढासम्म पुग्छिन् । ‘नजिक दाउरा पाइँदैन, निकै जंगल घुम्नुपर्छ । दाउरा बेचेर बेलुका मात्र घर फर्कन्छु,’ उनले भनिन् । पति भारतमा कमाउन गएकाले र घरमा अन्य कमाउने कोही नभएका कारण पूरै परिवार उजेलीमाथि निर्भर छ । उजेली मात्र होइन, पिपरी गाउँका महिलाको मुख्य आम्दानीको स्रोत नै दाउरा हो ।
आर्थिक स्थिति निकै कमजोर भएकाले यस गाउँका पुरुषजति भारतमा कमाउन जान्छन् भने महिलाले दाउरा बेचेर छोराछोरी लगायत पूरै परिवार पाल्ने गरेका छन् । पिपरीकी धनरुवा गिरी पनि उजेलीजस्तै पिठ्यँुमा दाउराको भारी लिएर नेपालगन्ज आउने गरेकी छिन् । पसिनाले निथ्रुक्क भिजेकी धनरुवाले हातले निधारको पसिना पुछ्दै भनिन्– ‘हाम्रो त कमाइ यही हो, परिवार यसैबाट पालिन्छौँ ।’
पचासौँ वसन्त पार गरिसकेकी धनरुवाले बिहानदेखि बेलुकासम्म दाउरासँगै खेल्छिन् । बुढेसकालमा पनि दु:खसँग संघर्ष गरिरहेकी उनले जंगलबाट ल्याएको दाउरा बिक्रका लागि नेपालगन्जका होटलका ढोकासम्म पुर्‍याउँछिन् । धनरुवाले एक भारीको ५० रुपियाँका दरले दाउरा बिक्री गर्छिन् तर उनको दाउरा सजिलैसँग अरूले किन्दैनन् । आफ्नो दु:ख यसरी सुनाउँछिन् धनरुवाले, ‘कसैले २० रुपियाँ, कसैले ३० रुपियाँमा देउ भन्छन्, अरूको दैलोमा बेच्न लगेको माल त भइहाल्यो नि दिउँसो त ५० रुंपियाँका दरले बेच्छौँ रात पर्न थाल्यो भने थोरै मूल्यमा भए पनि बेचेर जानुपर्छ ।’
उनी मात्र होइन, यस गाउँका सबैले यसरी नै दाउरा बिक्री गर्छन् । उनीहरू एकै साथ ग्रुपमा जंगल जान्छन् । अर्की उमा पुनले पनि दाउरा बेचेरै जीविका चलाएकी छिन् । यसैबाट आएको पैसाले चामल, नुन, तेल, दाल किन्ने गरेकी छन् । उनले दाउरा बेचेर दिनको तीन सय रुपियाँ आम्दानी हुने गरेको बताउँछिन् । त्यसैबाट आफूहरूको घरखर्च चल्ने गरेको उनीहरूको भनाइ छ । पुरुष घरमा नभए पनि गाउँका महिलाले आफ्नो दैनिक रोजिरोटी जुटाएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय