दु:ख दिएको भन्दै श्रीमान्को हत्या

नेपालगन्ज, २२ असोज । कान्छी श्रीमती ल्याएपछि छोराछोरी र आफूलाई दु:ख दिएको भन्दै बाँके कचनापुर–६ की सुशीला रानाले श्रीमानको हत्या गरेकी छन् । सुशीलाले बन्चरो प्रहार गरी शनिबार राति १२ बजे श्रीमान भरत रानाको हत्या गरेकी हुन् ।

शनिबार राति १२ बजेतिर रक्सी खाएर आएका श्रीमान र श्रीमतीबीच भएको झगडाले उग्ररूप लिएपछि घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बस्नेतले जानकारी दिए । श्रीमानको हत्यापछि राति नै भागेर कुसुमस्थित दिदीको घरमा लुकिरहेको अवस्थामा आइतबार बिहान सुशीलालाई प्रहरीले पक्राउ गरेको हो । राना दम्पतीका ६ र ९ वर्षका दुई छोरा र एक छोरी छन् । घटना हुँदा उनीहरू घरमै थिए । बिहान उठ्दा मात्र बाबुको हत्या भएको उनीहरूले थाहा पाएका थिए । ओछयानमा बाबु रक्ताम्मे अवस्थामा ढलेको र आमालाई नदेखेपछि उनीहरूले गाउँलेलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, श्रीमान–श्रीमतीको झगडा सकिएपछि उनीहरू दुवै सुतेका थिए । श्रीमान सुतिरहेको अवस्थामा सुशीलाले बन्चरोले घाँटीमा हानेर भागेको प्रहरीले जानकारी दिएको छ । भरतले कान्छी भित्र्याएदेखिट सुशीलासँग विवाद हुँदै आएको स्थानीयले बताएका छन् । भरतले कान्छी श्रीमतीलाई विदेश पठाएका छन् । ‘बिहेअघि तिमीविना मर्छु भन्नेले छोराछोरी जन्मेको वर्षदिन नबित्दै सौता ल्याउनुभयो,’ प्रहरीसँग बयान दिँदै रानाले भनिन्, ‘तैपनि सहेकै थिएँ । उहाँले सधैँ रक्सी खाएर मार्छु भन्दै कुट्ने र दु:ख दिन छाड्नुभएन । हिजो राति त्यस्तै गर्नुभयो । रिसको झाँेकमा बन्चरोले हानेकी थिएँ । उहाँ मर्नुभयो ।’
बाबुको हत्या र आमा प्रहरी हिरासतमा गएपछि छोराछोरीको बिचल्ली भएको छ । प्रहरी हिरासतमा रहेकी रानाले आवेगमा श्रीमानको हत्या गरेको प्रहरीलाई बयान दिएकी छन् । ‘हाँसखेल गरेर चलेको परिवारमा के वज्रपात भयो सोच्न सकेकी छैन,’ रानाले भनिन्, ‘दोस्रो बिहे गरेपछि घरमा सधैँ रडाको मच्चियो । यही कारणले उहाँको ज्यान गयो । मेरो त मेरै थियो । छोराछोरीको जिन्दगी पनि बिग्रिने भयो ।’

प्रतिक्रिया