नाटकघर बनाउनेले पैसा पाएनन्

विराटनगर, २२ असोज । एक व्यावसायीले आरोहण गुरुकुलले भवन बनाएबापतका पैसा नदिएको आरोप लगाएका छन् । चार वर्षअघि गुरुकुलको नाटक घर निर्माण गर्दाको पारिश्रमिक र सामानबापतको रकम

नदिएको व्यावसायी सुभाषचन्द्र राजवंशीको गुनासो छ ।
भद्रकाली मेटल वर्कसप विराटनगरका सञ्चालक राजवंशीले आरोहण गुरुकुलले विराटनगर ११ हाटखोलामा निर्माण गरिएको सुशीला कोइराला नाटकघर निर्माण गर्दाको पारिश्रमिक र फलामको पैसा हालसम्म नदिएको बताए । उनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर चार वर्षसम्म पैसा नपाउँदा व्यवसायमा असर परेको दुखेसो गरे । ‘मैले लिएको ऋणको किस्ता तिर्न गार्‍हो भएको छ,’ उनले भने, ‘त्यसैले पैसा पाउने वातावरण बनाइदिनुहोस् ।’ सुरुमा केही समय पर्खनुहोस् भन्दै गुरुकुलका पदाधिकारीले टारेको र अहिले आएर दिन्न भन्दा आफू चिन्तित भएको उनको भनाइ छ । उनका अनुसार गुरुकुलले पारिश्रमिक र नाटकघर निर्माण गर्दा प्रयोग गरिएको फलामको मूल्यसमेत गरेर एक लाख ३१ हजार रुपियाँ दिन बाँकी छ ।
पैसा माग्न जाँदा उल्टै दिन्न जे गर्छस् गर भनेर पदाधिकारीले धम्कीसमेत दिने उनको दुखेसो छ । ‘म सामान्य पेसा व्यवसाय गरिखाने नागरिक हुँ, सानो लगानीमा स्थापना गरेको मेरो वर्कसपमा त्यत्रो पैसा बाँकी हुँदा साह्रै समस्या भएको छ,’ राजवंशीले भने, ‘पैसा मागे जे गर्छस् गर भनेर धम्की दिन्छ ।’ आफूले टेन्डर हालेर नै बनाएको भए पनि गुरुकुलका पदाधिकारीले अहिले बेवास्ता गरेको उनी बताउँछन् । ‘गुरुकुलले नाटकघर निर्माणका लागि टेन्डर आह्वान गर्‍यो, त्यसमा मलाई पर्‍यो । त्यसपछि मैले निर्माण कार्य थालेको थिएँ’ राजवंशीले भने, सुरुमा एक लाख ९२ हजारमा मलाई टेन्डर परेको हो पछि मेरै वर्कसपबाट आवश्यक सामग्री ल्याएर प्रयोग गर्नु भनेपछि मैले सामान र परिश्रम लगाए, त्यसको सबै बिल छ ।’
गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले राजवंशीको पैसा दिन बाकी रहेको स्वीकार गरे । राजवंशीको केही पैसा दिन बाँकी रहेको सत्य हो तर ५० हजारभन्दा बढी छैन । ‘संस्थाको आर्थिक अवस्था कमजोर भएकाले दिन नसकिएको हो नदिने नियत होइन,’ उनले भने, ‘राजवंशीलाई पैसा दिन बाँकी रहेको सत्य हो तर एक लाख ३१ हजार रुपियाँ छैन ।’ क्षेत्रीले पर्खिदिन आग्रह गरेको भन्दै साथीभाइ नै भएकाले पनि अलि लामो समय हुँदा नरिसाउलान् जस्तो लागेको बताए । ०६६ सालमा आरोहण गुरुकुलले विराटनगर ११ हाटखोलामा सुशीला कोइराला नाटकघर निर्माण गरेको थियो । निर्माण सम्पन्न भएलगत्तै नाटक महोत्सव आयोजना गरेको गुरुकुलले विभिन्न समयमा नाटक प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया