दशक पुराना उद्योग सञ्चालन गर्न माग

वीरगन्ज, १९ असोज । झण्डै एक दशकदेखि बन्द रहेका वीरगञ्ज चिनी काराखना र कृषि औजार कारखना सञ्चालनको माग गरेर विभिन्न राजनीतिक दल अवद्ध केन्द्रीय नेताहरुले पर्सा जिल्लामा आमरण अनशन शुरु गरेका छन् ।
वीरगञ्जको घण्टाघर चोकमा संघर्ष समितिका संयोजक किशोर पटेलसमेत तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनल, संघीय सद्भावना पार्टीका सह–महासचिव शिव पटेल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमलगायतका नेताहरु आमरण अनशनमा बसेका छन् ।
समितिले तेश्रो चरणको आन्दोलन अन्तर्गत आज देखि आमरण शुरु गरेको हो । सरकारी स्वामित्वका दुबै उद्योगहरु राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापनका कारण बन्द भएका हुन् ।
पहिलो र दोश्रो चरणको आन्दोलन गर्दा समेत दुबै कारखाना सञ्चालनमा सरकारले ठोस पहल नगरेको भन्दै आमरण अनशन शुरु गरिएको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले जानकारी दिए । उनले बन्द उद्योग सञ्चालन गर्ने सरकारी निर्णय नहुँदा सम्म अनशन जारी रहने जनाए ।
उता, बन्द उद्योग सञ्चालनको मागउठे पछि समस्या समाधानका लागि उद्योग मन्त्री अनिलकुमार झा वीरगञ्ज पुगेका छन् । बन्द उद्योगहरु खुलाउने बारेमा आफूले पहल गर्ने प्रतिक्रिया उनले दिए ।
विगत एक दशक देखि बन्द रहेको सरकारी स्वामित्वका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गरेर भदौ–२१ गते देखि उनीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
चिनी कारखाना सञ्चालनको माग गरेर पेशागत सञ्जाल ‘पापड’ले आज बिहान वीरगञ्जमा प्रभातफेरि र कोणसभा गरेको छ ।

प्रतिक्रिया