काठमाडौं, १९ असोज । गोलकिपर विकेश कुथुको सानदार प्रदर्शनपछि बिहीबार नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मध्यपुर युथ एसोसिएसन राजधानीमा जारी एनसेलकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसै सिजन मात्र ए–डिभिजनमा उक्लिएको एकेडेमी क्लब मध्यपुरलाई सफलता दिलाउने क्रममा राष्ट्रिय टिमका सदस्यसमेत रहेका कुथुले टाइब्रेकरमा एक प्रहार रोक्नुअघि निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी अवसरमा विपक्षीलाई निराश बनाएका थिए ।
टाइब्रेकरमा आर्मीका राष्ट्रिय मिडफिल्डर राजु तामाङको प्रहार कुथुले रोके भने आर्मीका सन्तोष नेपालीको प्रहारले भने गोलपोस्टको फ्रेम समात्न सकेन । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन सकेन तर यसबीचमा धेरैपटक गोलनजिक पुगेको आर्मीलाई मध्यपुरका गोलकिपर कुथुले निराश पारेका थिए ।
१६आँै मिनेटमा कुथुले पहिलो सानदार बचाउ गर्नुअघि आर्मी दुईपटक गोलनजिक पुगे पनि फिनिसिङ कमजोर रहयो । छैटौँ मिनेटमा प्राप्त राम्रो अवसर आर्मीका नवयुग श्रेष्ठले खेर फाले । नवयुगले १२आँै मिनेटमा गरेको प्रहार क्रसबारको नजिकैबाट गएको थियो । १६आँै मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको सशक्त प्रहार कुथुले डाइभ गर्दै एक हातले रोकेका थिए । २४आँै मिनेटमा नवयुगले हेडमार्फत गरेको सुन्दर प्रहार कुथुले पनि सुन्दर तरिकाले बचाउ गरिदिए । ३९आँै मिनेटमा आर्मीले अन्तत: सुरुआती अग्रता लिनुअघि कुथुले ३५आँै मिनेटमा पनि राम्रो बचाउ गरेका थिए । डी–बक्सभित्रबाट टेकले हेडमार्फत गोल गरी आर्मीको लगातारको आक्रमणलाई यसपटक भने सफलता दिलाए ।
पहिलो हाफमा पछि परे पनि मध्यपुरले दोस्रो हाफको सुरुआतदेखि नै खेललाई बराबरीमा ल्याउन प्रयास गरेको थियो । ४९आँै मिनेटमा भेट्रान स्ट्राइकर निराजन रायमाझीले गोलकिपरलाई बिट गर्दै दिएको क्रसमा जीवन सिन्केमानले खाली पोस्टमा गोल गरेका थिए । ६८आँै मिनेटमा आर्मीका राजुले गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरियो । निर्धारित समयको अतिरिक्त समयमा पनि आर्मीले गोल गर्ने राम्रो अवसर पाएको थियो तर फेरि एकपटक कुथु खम्बा भएर उभिए । टेकको पासमा राजुले
डी–बक्सको बाहिरबाट गरेको सशक्त प्रहार कुथुले विपक्षीलाई निकै स्तब्ध पार्ने गरी बचाउ गरे । अतिरिक्त समयको पहिलो मिनेटमै आर्मीका भरत खवासले
डी–बक्सबाहिरबाट गरेको प्रहार कुथुले एक हातले क्लियर गरेपछि आर्मी लगातार निराश बन्ने क्रम जारी नै रहयो । १११आँै मिनेटमा बालगोपाल साहुखलले दोस्रोपटक पहेँलो कार्ड पाएपछि त्यसपछिको नौ मिनेट समय मध्यपुरले १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।
नेहरू कपमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका कुथुले उक्त प्रतियोगितामा क्यामरुनविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । हाल राष्ट्रिय टिममा तेस्रो रोजाइका गोलकिपर रहेका कुथुले समूहचरणमा थ्री–स्टार, एपिएफ र फ्रेन्ड्सविरुद्ध सानदार प्रदर्शन गरेका थिए । मध्यपुर ए–डिभिजनमा उक्लिएपछि गोलकिपर कुथु र डिफेन्डर सरोज दाहालसहित हिमालयन शेर्पाबाट बाहिरिएका प्रशिक्षक उपेन्द्रमान सिंह क्लब प्रशिक्षकका रूपमा एकपछि अर्को उपलब्धि हात पारिरहेका छन् । उनकै प्रशिक्षणमा हिमालयन शेर्पाले पहिलो
ए–डिभिजन प्रतियोगिता खेल्ने क्रममा दुई वर्षअघि राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । खासगरी स्टार खेलाडीभन्दा मध्यम तर टिमवर्कमा बढी जोड दिएका क्लब अध्यक्षसमेत रहेका उपेन्द्रमानले राष्ट्रिय टिमका पुराना तथा चर्चित स्ट्राइकर रायमाझीसहित एपिएफका जीवन सिन्केमान, थ्री–स्टारका राजकुमार घिसिङलाई भित्र्याएर क्लबलाई थप बलियो बनाउने प्रयास गरेका थिए । समूहचरणको पहिलो खेलमा थ्री–स्टारलाई १–१ को बराबरीमा रोकेर बलियो आत्मविश्वास बनाएको मध्यपुरले त्यसपछि एपिएफलाई १–० ले पराजित गरेको थियो भने फ्रेन्ड्ससँग १–१ को बराबरी खेलेको थियो ।
यता अहिलेका चर्चित स्ट्राइकर भरत र कुनै समय इंग्लिस प्रशिक्षक ग्राह्म रोबर्ट्सको नजरमा परेका युवा डिफेन्डर जितेन्द्र कार्कीलाई यसै सिजन भित्र्याएको आर्मी टोली कुनै प्रभावशाली प्रदर्शनविना नै यस प्रतियोगिताबाट बिदा भएको छ । व्यक्तिगत प्रदर्शनमा राम्रो देखिए पनि भरत टिममा भने फिट हुन सकेनन् ।
प्रतिक्रिया