ओलम्पिक कमिटीको आकस्मिक बैठक

काठमाडौं : ध्रुवबहादुर प्रधानको अध्यक्षतामा बिहीबार बसेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आकस्मिक बैठक केही दूरगामी महत्त्वका निर्णयहरू गर्दै सम्पन्न भएको समाचार छ । विदेशमा रहेका र कार्यव्यस्तताले गर्दा आउन नसकेका चार जनाबाहेक कमिटीका अन्य सबै सदस्यको उपस्थिति रहेको बैठकले कार्यकारिणी सदस्य रवि राजकर्णिकारसित गम्भीर स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
पछिल्लो लामो समयदेखि एनओसीको जिम्मेवार तहमा रहँदै आएका राजकर्णिकारले एनओसीको नीति, नियम र अनुशासन तथा चार्टरविरुद्ध काम गरेको बुझिन आएकोले निजसित स्पष्टीकरण मागिने र सो स्पष्टीकरणमा एनओसी सहमत नभएमा निलम्बन वा निष्काशनसम्मको कारबाही हुन सक्ने निर्णय बैठकले गरेको छ ।
एनओसी महासचिव जीवनराम श्रेष्ठका अनुसार, बैठकले विभिन्न राष्ट्रिय खेलसंस्थामा आबद्ध केही व्यक्तिहरू अन्तर्राष्ट्रियस्तरमै सम्मानित देशकै प्रतिनिधिमूलक खेलनिकाय एनओसीविरुद्ध अनुचित, अनर्गल र अवाञ्छित गतिविधिमा संलग्न रहेको देखिएकोले त्यस्तो निहित क्रियाकलाप तत्काल नरोकिएमा सरोकारवाला त्यस्ता व्यक्तिहरूलाई ओलम्पिक कमिटीमातहत हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अनुमति नदिइने निर्णयसमेत गरेको छ । यसैगरी, एनओसीअन्तर्गत रहेका दुई आयोग ओलम्पियन कमिसन र एथलिट कमिसनको चालु कार्यकाल समाप्त भइसकेकोले निकटभविष्यमै ती दुवै कमिसनको निर्वाचन गर्ने/गराउने निर्णय पनि बैठकले गरेको महासचिव श्रेष्ठले सौर्यलाई बताए ।
स्मरणीय छ, मुलुकमा दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा रहेका र तीमध्ये कुन वैधानिक भन्ने बहसले विगत लामो समयदेखि खेलकुद क्षेत्रमा विवाद निम्त्याउँदै आएको छ । महासचिव पदावधि सकिएपछि निर्वाचन जितेरै अध्यक्ष भएका ध्रुवबहादुर प्रधान नेतृत्वको एनओसीलाई आइओसी र अन्तर्राष्ट्रिय मान्यताप्राप्त छ भने लामो अदालती सुनुवाइपश्चात् पूर्वअध्यक्ष रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई अदालतले वैधता प्रदान गरेको थियो । प्रधान नेपाल प्रहरीका पूर्वप्रमुख पनि हुन् । (सौस)

प्रतिक्रिया