पूर्वसचिव पोखरेल भ्रष्टाचारी ठहर

काठमाडैां, १९  असोज । विशेष अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेललाई भ्रष्टाचारी ठहर गरेको छ । कर्मचारीको उच्च पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले पूर्वसचिव पोखरेललाई १ करोड १७ लाख बिगो तथा जरिवाना र डेढ वर्ष कैद सजाय तोकेको छ ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बिहीबार पोखरेलले पदमा रहँदा ५८ लाख ५९ हजार ७ सय ८५ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । ‘प्रतिवादीको वैध आम्दानीभन्दा निजसँग ५८ लाख ५९ हजार ७ सय ८५ बराबरको सम्पत्ति बढी देखिन आयो,’ फैसलामा भनिएको छ, ‘पोखरेल र उनको परिवारसँग घरजग्गा, गाडी, सेयर, बैंक ब्यालेन्स गरी कुल ९५ लाख १ हजार ५ सय ७८ बराबरको सम्पत्ति देखिन आयो । सोमध्ये स्रोत खुलेको ३६ लाख ४१ हजार ७ सय ९२ बराबरको सम्पत्ति मात्र देखियो ।’
विशेषले बिगो र त्यति नै जरिवाना असुल्न आदेश दिएको छ । पोखरेलबाट  बिगो र जरिवाना गरी १ करोड १७ लाख १९ हजार ५ सय ७० बराबरको सम्पत्ति असुल गर्न आदेश दिएको छ । सार्वजनिक पदमा रहँदा अवैध रूपमा सम्पत्ति आर्जन गरेको ठहरपछि विशेषले उनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम पोखरेललाई भ्रष्टाचार गरेको ठहर गर्दै सोही ऐनको दफा २०(२) बमोजिम १ वर्ष कैद सजाय र सचिवजस्तो विशिष्ट श्रेणीको पदाधिकारी भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप सजाय ६ महिना गरी जम्मा कैद १ वर्ष ६ महिना कैद सजाय तोकेको  छ ।
३० असार ०३२ मा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेका पोखरेल गृहसचिवसम्म भएका थिए । १ चैत ०५७ मा निवृत्त पोखरेलले पदको दुरुपयोग गरी १ करोड ५१ लाख ३८ हजार ८ सय ९८ बराबरको अवैध सम्पत्ति आर्जन गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० मंसिर ०६० मा भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले चलाएको मुद्दा तथ्यमा प्रवेश नगरी विशेषले हदम्यादको कारण देखाई खारेज गरेको थियो । पोखरेल सेवानिवृत्त भएको मितिले दुई वर्षभित्र मुद्दा चलाउनुपर्नेमा अख्तियारले तीन वर्षपछि मात्र मुद्दा चलाएको कारण देखाउँदै २४ जेठ ०६४ मा विशेषका तीन न्यायाधीशको इजलासले खारेज गरेको थियो ।
विशेषले भ्रष्टाचार मुद्दा तथ्यमा प्रवेश नगरी खारेज गरेपछि अख्तियार पुनरावेदनका लागि सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्चमा पुनरावेदन भएको करिब पाँच वर्षपछि विशेषको उक्त निर्णयलाई उल्ट्याई तथ्यमा प्रवेश गरी निर्णयमा पुग्न आदेश दिइएको थियो । ३ वैशाख ०६९ मा सर्वाेच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने विवेचनासहितको आदेश दिएपछि पोखरेलको मुद्दा पुन: २९ वैशाखमा विशेषमा दर्ता भएको थियो ।

जफत हुने सम्पत्ति

जफत हझुना पोखरेलको नाममा रहेको काठमाडौं महानगरपालिका–९ को कित्ता नम्बर २१४, २१५ ३६८ र ३६९ को जग्गा र सो जग्गामा बनेको मूलघर, सर्भेन्ट क्वाटर, ग्यारेज घर, फर्निचर, विद्युतीय उपकरण
झुना पोखरेलकै नाममा रहेको भक्तपुर र दिव्येश्वरीको कित्ता नम्बर ६४१ को ८ आना र काठमाडौं चपलीको २ ख कित्ता नम्बर ३७६ को १ रोपनी १५ आना २ दामको जग्गा
नं. ८८९९ को टोयटा कोरला कार र विभिन्न बैंक, फाइनान्समा रहेको ९ लाख ६९ हजार ५२ रुपियाँ बराबरको निक्षेपुने सम्पत्ति

प्रतिक्रिया