आरसिटीको फराकिलो जित

काठमाडौं, १७ असोज । एनसेलकप फुटबल प्रतियोगिताको समूहचरणको खेलमा आरसिटीले हिमालनय शेर्पा क्लबलाई ४–१ ले पराजित गरेको छ । मंगलबार भएको खेलमा आरसिटीका लागि ओलावाले दुई गोल गरे भने युगलकिशोर राई र अमर डंगोलले एक/एक गोल गरे । पराजित हिमालयनका लागि पुकार गहतराजले सान्त्वना गोल गरे । आरसिटी शत प्रतिशत जितसहित समूहमा पहिलो भयो भने ६ अंक जोडेको संकटा दोस्रो भयो ।
पाँचाँै मिनेटमा अमरको पासलाई उपयोग गर्दै युगलले म्याकड्वेल आरसिटीलाई अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा अमरले भली प्रहार गर्दै गोल गरेपछि आरसिटी दोस्रो गोलको अग्रता लिन सफल भएको थियो । ५९आँै मिनेटमा ओलावाले सुरेन थापा र हिमालयनका गोलरक्षक विनय श्रेष्ठलाई पार गर्दै गोल गरे । त्यसको एक मिनेटपछि नै हिमालयनले पनि गोल गरेको थियो । पुकारले हिमालयनका लागि पेनाल्टीमा गोल गरे । कृष्ण कँुवरले डी–बक्समा दिनेश कार्कीलाई लडाएपछि हिमालयनले पेनाल्टी अवसर पाएको थियो । ओलावाले नै ७८औँ मिनेटमा हिमालयनका अन्तिम रक्षक सुरेन र गोलरक्षक विनयलाई पार गर्दै गोल गरे । खेलमा हिमालयनले केही राम्रा मौका गुमाएको थियो । ८९औँ मिनेटमा गणेश खड्काको पासमा दिनेश कार्कीले फ्री–हेडको अवसर पाए पनि गोल गर्न सकेनन् । १६औँ मिनेटमा गणेशको क्रसमा अनिल पटेल हेडगोल गर्न चुके ।

प्रतिक्रिया