ज्ञानोदय र मल्पीलाई ज्ञानकार्निभल बास्केटबल उपाधि

काठमाडौं, १७ असोज । आयोजक ज्ञानोदयले गल्र्स र मल्पीले ब्वायजतर्फ १९औँ आयसर–ज्ञानकार्निभल अन्तरविद्यालय बास्केटबल, फुटबल तथा भलिबल प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि मंगलबार जितेका छन् ।
खोकनास्थित घरेलु कोर्टमा भएको गल्र्सको फाइनलमा ज्ञानोदयले डयाफोडिललाई ५९–५२ ले पराजित गर्‍यो । ज्ञानोदयकी पासाङ के. शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । ब्वायजको उपाधि भिडन्तमा मल्पीले द एक्सेल्सियर स्कुललाई ५४–४९ ले हरायो । मल्पीका विजय तामाङमगर ‘मोस्ट भेलुएबल प्लेयर’ बने । सैनिक आवासीय महाविद्यालयले ब्वायज फुटबलको उपाधि चुम्यो । फाइनलमा सैनिकले काठमाडौं भ्यालीको चुनौती ४–१ ले समाप्त पार्‍यो । सैनिकका संसार गुरुङले २, खड्गबहादुर मगर तथा अभिषेकले १–१ गोल गरे । काठमाडौं भ्यालीका तीर्थराज पौडेलले सान्त्वना गोल फर्काए । ज्ञानशिखाका गणेश गुरुङ उत्कृष्ट खेलाडी चुनिए । स्प्रिङडेलले दीपज्योतिलाई २६–२४, २५–१९, २४–२६ र २५–१७ ले हराउँदै ब्वायज भलिबलको उपाधि उचाल्यो ।
स्प्रिङडेलका विजय बस्नेत उत्कृष्ट खेलाडी ठहरिए । विजेतालाई ज्ञानोदयका अध्यक्ष बुद्धवीर लामा, संस्थापिका प्रिन्सिपल इन्दिरा याक्थुम्बा, भोल्बोका जनरल म्यानेजर शेखरराज मिश्र, भोल्बोका प्रबन्ध निर्देशक दीपक थापालगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया