बंगलादेशमा उच्च सुरक्षा सतर्कता

ढाका : बंगलादेशमा धार्मिक दंगा फैलिने सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । मुसलमान धर्मावलम्बीले कक्स बजारक्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीका निवास तथा गुम्बामा आक्रमण गरेपछि सो क्षेत्रमा सैनिक परिचालन गरिएको छ । आक्रमणमा कम्तीमा ६ वटा बौद्ध मन्दिर र १५ घर जलाइएका थिए । दंगा नियन्त्रणका लागि भन्दै सैनिक परिचालन गरिएको भए पनि मंगलबार समेत कतिपय स्थानमा दंगा फैलिने डरले सुरक्षा सतर्कता व्यापक बनाइएको छ । एकजना बौद्धमार्गीले इस्लाम धर्मको मानमर्दन गर्ने खालको फोटो फेसबुकमा अपलोड गरेको भन्दै मुसलमान समुदायका मानिस बौद्ध धर्मावलम्बीमाथि खनिएका हुन् । घटनापछि प्रहरीले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो । स्थितिले गम्भीर मोड नलेओस् भनेर सरकारले सोमबार सेना परिचालन गरेको थियो । शनिबार राति मुलुकको दक्षिणपूर्वी भागबाट बौद्ध धर्मावलम्बीमाथि आक्रमणको शृंखला आरम्भ भएको हो । त्यसपछि विभिन्न पाँच नगर तथा दर्जनौँ गाउँमा हिंसा फैलिएको थियो ।
सेनाका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा कक्स बजार र वरपरका केही गाउँमा सैनिक परिचालन गरिएको बताए । मंगलबार ती क्षेत्रमा तैनाथ सैनिक संख्या थपिएको बताइएको छ । थप हिंसा मच्चिन सक्ने भन्दै मन्दिर तथा बौद्ध क्षेत्रमा सुरक्षा बढाइएको छ । आगो लगाइएको घरका मानिसका लागि पालको व्यवस्था गरिएको छ । बंगलादेशमा बौद्ध धर्मावलम्बीको संख्या अत्यन्तै कम छ । उनीहरू म्यानमारसँगको सीमा क्षेत्रमा बसोवास गर्छन् । बंगलादेशको १५ करोड ३० लाख जनसंख्यामा बौद्ध धर्मावलम्बीको संख्या एक प्रतिशतभन्दा कम छ ।
हिंसाग्रस्त क्षेत्रको भ्रमण गरी सरकारी अधिकारीहरूले आक्रमणबारे अनुसन्धानपश्चात् मन्दिर तथा घर पुनर्निर्माणका लागि क्षतिपूर्ति दिने आश्वासन दिएका छन् । बौद्ध धर्मावलम्बीमाथिको आक्रमणको अनुसन्धान आरम्भ भएको बताइएको छ । यसैबीच बंगलादेश प्रहरीले मंगलबार दिएको जानकारीअनुसार दंगामा संलग्न भएको आरोपमा कम्तीमा तीन सयलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । कक्स बजार र रामु सहरमा भएको आक्रमणमा उनीहरूको संलग्नताको आरोप लगाइएको छ । प्रहरीले सो क्षेत्रमा निगरानी राखेको समाचारमा उल्लेख गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया