सभासद्को रकम छोराद्वारा दुरुपयोग

वीरगन्ज, १७ असोज । मधेसी जनतालाई अधिकार नदिए देश टुक्रयाउने धम्की दिने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संसदीय विकास कोषको रकम उनका छोराले हिनामिना गरेका छन् ।

सभासद् हुँदा कर्णले राज्यको ढुकुटीबाट चार वर्षमा चार लाख रुपियाँ लिएका छन् । कर्णले सञ्चालन गर्दै आएको नारायणी ल च्याम्बरमा कार्यरत व्यक्तिको सहभागितामा आफ्नै छोरा सुधीर कर्णको अध्यक्षतामा उपभोक्ता समिति बनाएर कोषको पैसा हिनामिना गरिएको हो ।
कर्ण सभासद् हुँदाको संसदीय प्रतिनिधि पनि छोरा सुधीर नै थिए । नारायणी ल च्याम्बरभन्दा २५ किलोमिटर पश्चिममा रहेको जानकीटोला र १४ किलोमिटर पश्चिममा रहेको पोखरियामा सिलाइकटाइको तालिम सञ्चालनका लागि छोरा अध्यक्ष रहेको उपभोक्ता समिति बनाएर रकम हिनामिना गरिएको हो ।
छोरा सुधीर दुवै गाउँका बासिन्दा होइनन् तर त्यस गाउँमा गठित उपभोक्ता समितिका अध्यक्ष भएर उनले तीन लाख रुपियाँ लिएको पाइएको छ । प्रतिफल प्राप्त गर्न उपभोक्ताबीचबाटै समिति बन्नुपर्ने प्रावधान छ तर त्यसो नगरी आफ्नै ल च्याम्बरमा कार्यरत कानुन व्यवसायी र तारेख बुझ्ने बुझाउनेहरू राखेर मधेसी जनताको हितमा राज्यले विनियोजन गरेको कोषमा सहअध्यक्ष कर्ण र उनका छोराले मनपरी गरेका छन् ।
पर्सा जिल्लाको तीन गाविसमा आयमूलक तालिम सञ्चालन गर्नका लागि बनाइएको समितिमा सुधीर अध्यक्ष, उपाध्यक्ष रामप्रवेश गिरी, सचिव मुमताज अहमद र सदस्यहरूमा दीपेन्द्र कर्ण, अजय श्रीवास्तव, योगेश मल्लिक र मुन्ना सिंह छन् । समितिमा रहेका सबै कर्णको ल च्याम्बरका कारिन्दा हुन् । यही समितिको नाममा आर्थिक वर्ष ०६७/६८ मा तीन लाख रुपियाँ लिइएको थियो । जिल्ला विकास समितिमा तालिम सम्पन्न भएको किर्ते कागजात पेस गरेर राज्यकोष दुरुपयोग गरिएको पाइएको हो । पोखरियाको एउटै वडाका सहभागीबीचमा तालिम सञ्चालन गरिएको किर्ते कागज बनाएर पेस गरिएको छ ।
तर सुधीरले आफू पिताको प्रतिनिधि भएको भन्दै तीन लाख रुपियाँ नझिकेको प्रतिक्रिया दिए । उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणको नाममा ६० हजार रुपियाँ लिएका थिए । उनले आफूले ६० हजार रुपियाँ पनि नलिएको दाबी गरे । तर जिल्ला विकास समिति पर्साको अभिलेखमा उनैका नाममा रकम निकासा भएको र त्यसमा उनको दस्तखत रहेको छ ।
लक्ष्मणलाल कर्णको प्रतिनिधिका रूपमा उनले संसदीय विकास कोषको रकममा आफ्ना मान्छेको नाममा झिकेर दुरुपयोग गरेको हुन सक्ने भएकाले छानबिन गरिनुपर्ने माग उठेको छ । राज्यकोषमा कर्णको रजाइँ जिल्ला विकास समिति पर्साको अभिलेख सार्वजनिक भएपछि खुलासा भएको हो ।
संसदीय विकास कोषको रकम खर्चेर कर्ण ससुराली घुम्न गएको उनीनिकटका व्यक्तिहरूले बताए । छोरा सुधीर कर्णको मामलामा सहअध्यक्ष कर्णले धृतराष्ट्रको जस्तो भूमिका निर्वाह गर्ने गरेको च्याम्बरमै कार्यरत एक कर्मचारीले बताए । ज्ञानेन्द्र शाहले शाही ‘कू’ गरेपछि वीरगन्जको माईस्थानको खुलासभामा सम्बोधन गर्दै कर्णले राजाको शासनकालमा मधेसी जनताको स्वाभिमान उच्च हुने भनेका थिए । उनको यो भनाइ आज पनि पर्सामा मधेसी नेताबीचमा चर्चा भइरहन्छ । त्यतिबेला उनी शाही सरकारका मन्त्री बद्रीप्रसाद मण्डलको पार्टीका सहअध्यक्ष र सबैभन्दा निकटका सहकर्मी पनि थिए ।

प्रतिक्रिया