वैशाखसम्ममा चुनाव गर्न माग

वीरगन्ज, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको नयाँ निर्वाचनको माग गरेको छ ।

वीरगन्जमा सम्पन्न राप्रपा नेपालको तीनदिने विस्तारित बैठकले आगामी चैत या वैशाख महिनामा संविधानसभाको नयाँ निर्वाचन गराउन माग गरेको हो । १४ बुँदे वीरगन्ज घोषणापत्र जारी गर्दै राप्रपा नेपालको विस्तारित बैठक सकिएको हो । तीनदिने विस्तारित बैठकको निर्णय राप्रपा नेपालले सोमबार वीरगन्जमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । विस्तारित बैठकले सर्वोच्च अदालतको फैसला र जनचाहनाअनुरूप आगामी वैशाख महिनाभित्र निर्वाचन गराउन सरकारसँग माग गरेको छ ।
नयाँ संविधान जनताबाट निर्वाचित जनप्रतिनिधिबाट निर्माण हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले जानकारी दिए । बैठकले वैशाख महिनासम्ममा निर्वाचन नभए सडकसंघर्ष सुरु गर्ने निर्णयसमेत गरेको अध्यक्ष थापाले बताए  ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘जनताको अधिकारका लागि संघर्षको नेतृत्व राप्रपा नेपालले नै गर्छ ।’ अब बन्ने संविधानसभा बढीमा तीन सय ११ सदस्यीय हुनुपर्ने राप्रपा नेपालको माग छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन बढीमा पाँच मन्त्री रहने गरी स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने राप्रपा नेपालको माग छ ।
निर्वाचित संसद्ले पहिलो एक वर्ष संविधानसभाको काम गर्ने र बाँकी चार वर्ष व्यवस्थापिकाको काम गर्ने गरी पाँच वर्षका लागि नयाँ निर्वाचनमार्फत संसद्का प्रतिनिधिको चयन हुनुपर्ने पार्टीको धारणा रहेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जानकारी दिए ।
१४ बुँदे घोषणापत्रमा हिन्दूराष्ट्र पुन:स्थापनाका लागि पार्टीले २ पुसदेखि जनकपुर–लुम्बिनी–पशुपतिनाथ रथयात्रा गर्ने उल्लेख गरिएको छ । नौ दिनसम्म चल्ने रथयात्राको क्रममा रथयात्राको रुटमा पर्ने १८ जिल्लाका विभिन्न स्थानमा धार्मिक अनुष्ठान, यज्ञ तथा पूजाआराधना गर्ने रापप्रा नेपालले जनाएको छ । तीनदिने विस्तारित बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन र लोडसेडिङको अवधि घटाउन पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया