छात्रवृत्ति र पाठयपुस्तकको रकम बाँडिएन

जाजरकोट, १६ असोज । पूर्वीजाजरकोटको खगेनकोट–७ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाले विद्यालयमा छात्रवृत्ति र पाठयपुस्तकबापतको रकम वितरण नगरेको रहस्य खुलेको छ । छात्रवृत्तिको रकम नपाएपछि विद्यार्थी आक्रोशित भएका छन् ।

छात्रवृत्ति र पाठयपुस्तकबापतको रकम प्रधानाध्यापक होमप्रकाश सिंहले तत्काल वितरण नगरे कडा आन्दोलनमा जाने कक्षा आठमा अध्ययनरत छात्र विष्णु केसीले बताए । आफूहरूले रुपियाँ सापटी लिएर किताब किनेको तर प्रअले विद्यालयमा आएको रकम व्यक्तिगत प्रयोग गरिरहेको विद्यार्थी केसीले जानकारी दिए । ‘हामीले पाठयपुस्तकको रकम नपाए विद्यालयको बैठकसमेत बस्न नदिने भनेका छौँ,’ केसीले भने, ‘त्यसैले हालसम्म बैठकसमेत बस्न सकेको छैन ।’
प्रधानाध्यापक सिंहले जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा नभएको जानकारी दिए । तर, यो गलत प्रचार भएको विद्यालयमा कार्यरत एक शिक्षकले बताए । शिक्षा अधिकारी गिरमान थापाले पनि कार्यालयले जिल्लाका सबै विद्यालयको खातामा तीन महिनाअगावै छात्रवृत्ति र पाठयपुस्तकबापतको रकम जम्मा गरिसकेको जानकारी दिए । रकम विद्यार्थीले नपाएको भए तत्काल कानुनअनुसार कारबाही गरिने थापाले बताए ।
जाजरकोटका अधिकांश विद्यालयले आफैँले विद्यार्थीलाई किताब खरिद गर्ने गरेका छन् । तर, पञ्चभयार माविमा अध्ययनरत विद्यार्थीले भने विद्यालयले पाठयपुस्तक उपलब्ध नगराएपछि आफैँ किनेका थिए । यस्तै, विद्यालयले विद्यार्थीबाट भर्ना शुल्कसमेत लिएको विद्यार्थीले बताएका छन् । ‘भर्नाबापत लिएको रकम अहिलेसम्म विद्यालयको खातामा जम्मा गरिएको छैन,’ दरबन्दीमा कार्यरत एक शिक्षकले सौर्यसँग भने, ‘केही शिक्षकको मिलेमतोमा व्यक्तिगत काममा लगाइएको छ ।’
आफूहरू कापी–किताब किन्ने रकमको जोहो गर्न यार्सा टिप्ने समयमा डोल्पा जाने तर शिक्षक भने मनोमानी तरिकाले विद्यालयको स्रोतबाट आएको रकम व्यक्तिगत प्रयोग भइरहेको थाहा पाएपछि विद्यालय व्यवस्थापन समितिविरुद्धमा जाने निष्कर्षमा पुगेको नौ कक्षामा अध्ययनरत विद्यार्थी बलबहादुर बस्नेतले बताए ।
यस्तै, विद्यालयमा आवश्यक शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठनसमेत प्रभावित भएको छ । शिक्षक आफ्नो व्यक्तिगत कामका लागि विद्यालयमा नआउँदा पठनपाठन अवरुद्ध भएको हो । व्यक्तिगत कामका लागि विद्यालयमा नआउने शिक्षकमा नरेन्द्र केसी, विष्णुलाल केसी र वीरबहादुर केसी छन् । विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलब विद्यालय व्यवस्थापन समितिले काटेको छैन । जिल्ला शिक्षा कार्यालयको टोली अनुगमनको गएका बेला उनीहरूको हाजिरी भएको पाइएको थियो ।

प्रतिक्रिया