शोधनान्तर बचत पौने चार करोड

काठमाडौं, १५ असोज । गत आर्थिक वर्षमा एक सय १० करोड रुपियाँभन्दा बढी रहेको शोधनान्तर बचत नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो महिना पुग्दा भने तीन अर्ब ८५ करोड रुपियाँ मात्र पुगेको छ । गत वर्ष समयमा बजेट आउनु, नेपाली रुपियाँको तुलनामा अमेरिकी डलर महँगो हुँदै जाँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि हुनु, सेवा क्षेत्र धेरै समयपछि नाफामा रहनुलगायत कारणले शोधनान्तर बचत ऐतिहासिक उचाइमा पुगे पनि चालू वर्ष एक तृतीयांश बजेट मात्र आउनु, अमेरिकी डलर पुन: कमजोर हुँदै जानुलगायत कारणले शोधनान्तर बचत अघिल्लो वर्षको तुलनामा घट्न गएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपालको शोधनान्तर बचत आठ अर्ब २० करोड रुपियाँ रहेको थियो ।
समीक्षा अवधिमा चालू खाता ६ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ७३ करोड रुपियाँ बचतमा थियो । खासगरी वस्तु आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालू खाता बचत अघिल्लो वर्षको तुलनामा न्यून रहन गएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत चार करोड ३४ लाख डलर र चालू खाता बचत ६ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ११ करोड ३४ लाख डलर र चालू खाता बचत एक करोड दुई लाख डलर रहेको थियो ।
शोधनान्तर बचतमा कमी हुँदै गए पनि नेपालको कुल विदेशी विनिमय सञ्चितिमा भने झिनो सुधार भएको छ । गत वर्षको असार मसान्तको तुलनामा चालू आवको पहिलो महिनामा विदेशी विनिमय सञ्चिति १ दशमलव ९ प्रतिशतले वृद्धि भई चार खर्ब ४७ अर्ब ८६ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा बैकिङ क्षेत्रको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलर पाँच अर्ब पाँच करोड पुगेको छ । भारतीय मुद्रा सञ्चिति भने ६१ अर्ब दुई करोड रुपियाँ रहेको छ । नेपालसँग भारतको दुई तिहाई व्यापार हुने एवं नेपाल भारत खुला सीमानाका कारण राष्ट्र बैंकले भारतीय रुपियाँसमेत सञ्चिति गर्दै आएको छ । नेपालको वर्तमान सञ्चितिले ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको ट्रेन्डविपरीत चालू वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा लगानीमा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको तुलनामा शून्य दशमलश ७ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप परिचालनमा भने शून्य दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा तीन अर्ब ९८ करोड रुपियाँले वित्तीय प्रणालीमा निक्षेप बढेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निक्षेप परिचालन शून्य दशमलव २ प्रतिशतले, विकास बैंकको १ दशमलव १ प्रतिशतले र वित्त कम्पनीहरूको पनि १ दशमलव १ प्रतिशतले नै बढेको छ । समीक्षा अवधिमा वित्तीय प्रणालीमा ६ अर्ब ६७ करोड रुपियाँ कर्जा बढेको छ । वाणिज्य बैंक र विकास बैंकहरूको कर्जा तथा लगानी क्रमश: शून्य दशमलव १ प्रतिशत र १ दशमलव ४ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा तथा लगानी शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
पहिलो महिना मूल्य वृद्धि दोहोरो अंकमा पुगेको छ । गत वर्षको अन्तिमसम्म नै एकल विन्दुमा रहेको मूल्य वृद्धि चालू आवको पहिलो महिनामा ११ दशमलव ९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष पहिलो महिनामा मूल्य वृद्धि ७ दशमलव ७ प्रतिशत मात्र थियो । खाद्य तथा पेयपदार्थको मूल्य सूचकांकको वृद्धिदर १२ दशमलव २ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको सूचकांकमा ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांकमा क्रमश: ९ दशमलव ९ प्रतिशत र ५ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १२ दशमलव ३ प्रतिशत, तराईमा ११ दशमलव ८ प्रतिशत र पहाडमा ११ दशमलव ५ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रहरूमा यस्तो मूल्य सूचकांकको वृद्धिदर क्रमश: ६ दशमलव ६ प्रतिशत, ६ दशमलव ९ प्रतिशत र १० दशमलव ३ प्रतिशत रहेको थियो ।
वैदेशिक व्यापार पहिलो एक महिनामा कुल वस्तु व्यापार घाटा ४९ दशमलव ४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ७८ करोड पुगेको छ । चालू आर्थिक वर्षको पहिलो महिना ७ अर्ब २० करोड रुपियाँ बराबरको सामान निर्यात गरेको थियो भने ४६ अर्ब ९८ करोड रुपियाँ बराबरका सामान आयात गरेको थियो । निर्यात–आयात अनुपात समीक्षा अवधिमा १५ दशमलव ३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १८ दशमलव ६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया