बंगलादेशका बौद्ध समुदायमाथि आक्रमण

कक्स बजार : मुसलमान धर्मावलम्बीको अराजक भिडले बंगलादेशका बौद्धमार्गी समुदायमाथि आक्रमण गरेको छ । आक्रमणका क्रममा कम्तीमा चारवटा बौद्ध मन्दिर र १५ घर जलाइएका छन् । बंगलादेशको दक्षिणपश्चिममा पर्ने कक्स बजार क्षेत्रमा रहेका बौद्ध समुदायमाथि शनिबार बेलुका आक्रमण भएको हो । मुसलमान र बौद्ध धर्मावलम्बीबीचको शान्तिपूर्ण सहअस्तित्वमा आधारित सम्बन्ध बिगार्न केही मानिस लागिपरेको र उनीहरूले नै आक्रमण गराएको आरोप सो क्षेत्रका बौद्ध धर्मावलम्बीले लगाएका छन् ।
एकजना बौद्धमार्गीले इस्लाम धर्मको मानमर्दन गर्ने खालको फोटो फेसबुकमा अप्लोड गरेको भन्दै मुसलमान समुदायका केही मानिसले शनिबार साँझ प्रदर्शन गरेका थिए । भिड अराजक बन्दै गएपछि बौद्ध समुदायको बस्तीतर्फ लम्किएर उनीहरूले मन्दिर र घरमा आगो लगाएका थिए । घटनापछि प्रहरीले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । बौद्धमार्गी बसोबास गर्ने क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । साथै, भिड जम्मा हुन नदिन भिडमाथि प्रतिबन्द लगाइएको छ ।
स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ । ‘बिहान हुन नपाउँदै हामीले स्थिति नियन्त्रणमा लिइसकेका थियौँ र भिड जम्मा गर्ने कार्यमाथि प्रतिबन्ध लगाइसकेका थियौँ,’ कक्स बजारका प्रहरी निरीक्षक मोहम्मद जहन्गिरले भने । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको छिमेकी मुलुक म्यानमारमा मुसलमान धर्मावलम्बीमाथि आक्रमण भएको केही महिनापछि बंगलादेशका बौद्ध धर्मावलम्बी आक्रमणको निशाना भएका हुन् । बंगलादेश मुसलमान बहुलराष्ट्र हो । सीमालगायत कतिपय विषयमा दुई मुलुकबीच गम्भीर मतभेद छ । इस्लामको अपमान गर्ने खालको तस्बिर फेसबुकमा अप्लोड गरेको आरोप लागेका व्यक्ति र उसकी आमालाई प्रहरीले सुरक्षा दिएको बताइएको छ ।
घटना भएको क्षेत्रको ‘मुस्लिम काउन्सिल’का प्रमुख सोहेल सरवार काजलले साम्प्रदायिक सद्भाव पुनस्र्थापना गराउन आफू क्रियाशील रहेको बताएका छन् । ‘तनाव हटाउन र साम्प्रदायिक सद्भाव कायम गर्न हामी हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भने । अमेरिकाको क्यालिफोर्नियामा बनेको फिल्मले मुस्लिम जगत्लाई आक्रोशित बनाइरहेका बेला बंगलादेशका बौद्ध समुदायमाथि आक्रमण भएको हो । अमेरिकाको चरमपन्थी क्रिस्चियन समुदायका मानिसले ‘इनोसेन्स अफ मुस्लिम’ नामक फिल्म बनाएपछि विश्वभरका मुसलमानबहुल राष्ट्रसहित बंगलादेशमा पनि अमेरिकाविरोधी प्रदर्शन भड्किएको थियो । फिल्ममा इस्लामको चर्को आलोचना गरिएको छ भने पैगम्बर मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहाका रूपमा चित्रण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया