‘८० प्रतिशत अफगान भूमि हिंसामुक्त’

काबुल : अफगानिस्तानका ८० प्रतिशत भूभाग हिंसाबाट मुक्त भएको दाबी नेटोका वरिष्ठ कमान्डरले गरेका छन् । देशका दक्षिण तथा पूर्वी भागमा भने चरमपन्थी आक्रमण जारी रहेको उनले बताएका छन् । अफगानिस्तानको छिमेकी मुलुक पाकिस्तानबाट आउने लडाकुले सो क्षेत्रमा आतंक मच्चाउने गरेको आरोप उनले लगाएका छन् । करिब ८० प्रतिशत अफगान भू–भाग र अफगानी जनसंख्या सुरक्षाको समस्या र हिंसाबाट प्रभावित नभएको कमान्डर ओलिभियर डे बाभिन्चोभेले एएफपीलाई दिएको अन्तर्वार्तामा जनाएका छन् ।
गत अगस्टमा पाँच वर्षयताकै दोस्रो ठूलो संख्यामा अफगान नागरिक हताहती भएको संयुक्त राष्ट्र संघले जानकारी दिएको केही दिनपछि उनले यस्तो दाबी गरेका हुन् । राष्ट्रसंघका अनुसार त्यतिबेला १० दिनभित्र तीन सय ७४ भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै पाँच सय ८१ जना घाइते भएको जनाइएको थियो । तर, बाभिन्चोभले भने हताहतीको विवरण विरोधाभाषपूर्ण रहेको जनाएका छन् । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानबाट नेटो सैनिक फर्काउने अमेरिकाको निर्णय रहेको र हाल हिंसामा कमी आएको धेरैजसो क्षेत्र सुरक्षित रहेको उनको भनाइ छ । (एजेन्सी)
सोह्र तालिबानीको मृत्यु
अफगानिस्तानमा नेटो सेनाले गरेको कारबाहीमा परी १६ तालिबानी चरमपन्थीको मृत्यु भएको छ । अफगानिस्तानको राष्ट्रिय सेनाले कारबाही समन्वय गरेको थियो । कारबाहीमा २२ तालिबानी चरमपन्थी पक्राउ परेको र अन्य १० भन्दाबढी घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसाग आबद्ध सैनिकले गरेको दसवटा संयुक्त कारबाहीमा ती तालिबानी मारिएको विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानका सार–ई–पुल, कान्दाहार, उरुज्गान, वार्दाक लोगार, हेरात, फराह, गोर र हेल्मन्डलगायत प्रान्तमा अफगानिस्तान प्रहरीको नेतृत्वमा कारबाही भएको थियो । कारबाहीका क्रममा विभिन्न हातहतियार कब्जा गरिएको जनाइएको छ । कारबाहीमा सुरक्षाबलतर्फ कुनै हताहती नभएको समचारमा उल्लेख छ । अफगानिस्तानमा अफगान र नेटोसाग आबद्ध करिब एक लाख सेनाले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिांदै गर्दा तालिबानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको समाचारमा जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया