भ्रूणहत्या व्यापक

नेपालगन्ज, १५ असोज । बाँके जिल्लामा लिंग पहिचान गरेर गर्भपतन गराउनेको संख्या बढेको छ । गर्भमा छोरी भएकाहरूले पछिल्लो समयमा धमाधम गर्भपतन गराइरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

लिंगको पहिचान गरी गर्भपतन गराउने काम नेपालगन्जमा व्यापकरूपमा भइरहेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार १२ सातापछि गर्भपतन गराउन आउने अधिकांश महिला गर्भमा छोरी भएको भन्दै अस्पतालमा आउने गरेका छन् । मेरी स्टोप्स नेपालगन्ज केन्द्रका इन्चार्ज दीपेश शर्माले १२ साता कटेपछि गर्भपतन गर्न आएकाहरू लिंग पहिचान गरेको भन्दै आउने गरेको बताए । मेरी स्टोप्स नेपालगन्जका इन्चार्ज शर्माका अनुसार सन् २०११ मा मेरी स्टोप्सले गर्भपतन गराउन नसकिने भन्दै फर्काइदिएका १ सय १ जनामध्ये अधिकांश लिंग पहिचान गरेर गर्भपतन गराउन आएका थिए । छोरी जन्मिएमा दाइजोमा लाखौँ रुपियाँ खर्च हुने भएका कारण छोरीलाई गर्भमै मार्ने गरिएको छ । यो भारतमा व्यापकरूपमा रहे पनि अहिले नेपालका तराई भागमा गर्भमा नै छोरीलाई हत्या गर्ने गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. उपेन्द्र पण्डित लिंग पहिचान गरेर गर्भपतन गराउन आउनेहरूको संख्या उल्लेख्य रहेको बताउँछन् । डा. पण्डित भन्छन्, ‘लिंग पहिचान गरेको भनेर गर्भपतन गर्न आउनेहरू धेरै छन् । लिंग पहिचान गरौँ भनेर आएकाहरूको पनि गर्भपतन गराउँदा छोरी भनिएको ठाउँमा छोरा भएको घटना पनि प्रशस्त रहेको छ ।’ गर्भ रहेको तीन महिनापछि लिंग पहिचान हुने सम्भावना ७० देखि ८० प्रतिशत हुने डा. पण्डितले बताए ।
यता कानुनले भने सम्बन्धित महिलाले आफै १२ साता (तीन महिना) सम्मको गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ भने अपांग बच्चा भएमा बलात्कार भएको अवस्थामा, आमाले बच्चा जन्माउन नसक्ने अवस्थामा भने १८ सातासम्मको गर्भपतन गराउन पाउने व्यवस्था कानुनले गरेको छ ।

प्रतिक्रिया