भैरहवाको लगातार दोस्रो जित

काठमाडौं, १४ असोज । पोखरामा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर–४ भैरहवाले लगातार दोस्रो जित हात पारेको छ भने क्षेत्र नम्बर–७ जनकपुरधामले लगातार तेस्रो हार व्यहोर्‍यो ।
समूह–ए अन्तर्गत जितयात्रा कायम राख्ने क्रममा भैरहवाले क्षेत्र नम्बर–२ वीरगन्जलाई सात विकेटले पराजित गर्‍यो । टस जिती पहिला ब्याटिङमा उत्रिएको वीरगन्ज १८.४ ओभरमा ८१ रनमा सीमित भएको थियो । भैरहवाले १२.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । विजयी टोलीका लागि यु–१९ राष्ट्रिय टोलीकी उपकप्तान इन्दु वर्माले अविजित २० रन बनाइन् भने सरस्वती पुनले पनि १९ रन जोडिन् । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
वीरगन्जलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका इन्दु वर्मा, पूजा भण्डारी, सुधा थापा र सोनिया पौडेलले समान दुई विकेट लिए । ३७ अतिरिक्त रन पाएको वीरगन्जका लागि कप्तान तथा विकेटकिपर मनीषा चौलागाईंले सर्वाधिक १७ रन जोडिन् । अलराउन्ड प्रदर्शन गरेकी इन्दु ‘वुमन अफ द म्याच’ भइन् । सोही समूहको अर्को खेलमा क्षेत्र नम्बर–३ काठमाडौंले क्षेत्र नम्बर–६ बैतडीविरुद्ध पाँच विकेटले पराजय व्यहोर्‍यो । पहिलो खेलमा जित हात पारेको काठमाडौंले दोस्रो खेलमा पराजय व्यहोर्ने क्रममा खराब ब्याटिङ गर्‍यो । टस जिती पहिला ब्याटिङ गरेको उक्त टोली पाँच बल बाँकी छँदा ४३ रनमा सीमित भयो । बैतडीले १३.३ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । विजयी टोलीका लागि राष्ट्रिय टिम सदस्य रोशनी बोहराले अलराउन्ड प्रदर्शन गरिन् । उनले तीन विकेट लिइन् भने टोलीका लागि सर्वाधिक २० रन जोडिन् । बैतडीका लागि रेखा रावल र अञ्जली चन्दले पनि दुई–दुई विकेट लिए । रोशनी वुमन अफ द म्याच भइन् ।
समूह–बी अन्तर्गतको भिडन्तमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब जनकपुरधामलाई ६४ रनले पराजित गर्दै अपराजितयात्रा कायम राख्दै समूहविजेता बन्यो । पहिलो खेलमा विराटनगरलाई पराजित गरेयता जनकपुरधामले लगातार तेस्रो खेलमा पराजय सामना गरेको हो । टस जिती पहिला ब्याटिङ गर्ने क्रममा एपिएफले सीता रानामगरको ४९, रुविना क्षत्रीको २६ र सरिता मगरको १६ रनको मद्दतमा निर्धारित २० ओभरमा १२४ रन जोडेको थियो ।
जनकपुरधामले निर्धारित २० ओभरमा ५७ रन मात्र जोड्न सक्यो । पराजित टोलीका लागि ममता चौधरीले १७ र शोभा आलेले १५ रन जोडे । बलिङतर्फ एपिएफका लागि बिनु बुढामगरले तीन तथा सरिता मगरले दुई विकेट लिए । सानदार ब्याटिङ प्रदर्शनलाई कायम राखेकी एपिएफकी प्रारम्भिक ब्याट्सवुमन सीता वुमन अफ द म्याच भइन् । हारसँगै जनकपुरधामको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । चार खेलबाट एपिएफको आठ अंक भयो भने तीन खेलबाट चार अंक जोडेको क्षेत्र नम्बर–५ नेपालगन्ज दोस्रोमा छ । सोही समूहको अर्को खेलमा शनिबार नेपालगन्जले क्षेत्र नम्बर–८ पोखरालाई ८७ रनले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गर्ने क्रममा नेपालगन्जले मनीषा रावलको ३७, सञ्जु चौधरीको ३६, तृष्णा सिंहको १५ र गीता घोसाईको १३ रनको मद्दतमा निर्धारित २० ओभरमा २७ अतिरिक्त रनसहित १३० रन जोडेको थियो । पोखरा भने निर्धारित २० ओभरमा ४३ रनमा सीमित भयो । बलिङतर्फ तृष्णाले तीन विकेट लिइन् भने रेखा बिसीले दुई विकेट लिइन् । तृष्णा वुमन अफ द म्याच भइन् ।

प्रतिक्रिया