‘इजरायल परमाणु आतंकवादतर्फ’


वसिंगटन : इजरायलले इरानका परमाणु भट्टिमाथि गर्नसक्ने सम्भावीत आक्रमणलाई इरानले ‘पारमाणविक आतंकवाद’को संज्ञा दिएको छ । राष्ट्रसंघ साधारणसभालाई बिहीबार सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको परमाणु कार्यक्रमसामु ‘अन्तिम रेखा’ कोर्नुपर्ने भनाइ राखेपछि जवाफमा इरानले यस्तो टिप्पणी गरेको हो । इजरायलको यस्तो भनाइलाई विश्लेषकले इरानविरुद्ध इजरायलको खुला चुनौतीका रूपमा लिएका छन् । सम्बोधनका क्रममा नेतान्याहुले इरानविरुद्ध इजरायल र अमेरिकाले समान धारणा बनाउनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे ।
इजरायली प्रधानमन्त्रीले आफ्नो भनाइ राखेको भोलिपल्ट इरानले यस्तो टिप्पणी गरेको हो । शुक्रबार साधारणसभामा बोल्दै इरानी विदेशमन्त्री अली अकबर सालेहीले इजरायली भनाइको विरोध गर्दै राष्ट्रसंघ सुरक्षापरिषद्को समेत चर्को आलोचना गरे ।
‘अमेरिकाको दोहोरो चरित्र’
इराकका पूर्वतानाशाह सद्दाम हुसेनसँग नजिक चरमपन्थी समूहलाई अमेरिकाले आतंकवादीको सूचीबाट निकालेपछि इरानी सञ्चारमाध्यममा यसको विरोध भएको छ । मुजाहिद्दीन–इ–खाल्क समूहले इरानमा सशस्त्र द्वन्द्व सञ्चाल गर्दै आएको छ । सो समूहलाई आतंकवादी समूहबाट निकालेर अमेरिकाले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप इरानी सञ्चारमाध्यमले लगाएका छन् ।
सो समूहलाई आतंकवादीको सूचीबाट मुक्त गर्दै अमेरिकाले समूहमा आबद्ध मानिसलाई अमेरिकामा व्यवसाय गर्न र संगठन स्थापना गर्न छुट दिएको थियो । इजरायल–इरान द्वन्द्वमा समूहले इजरायलको पक्ष लिँदै आएको छ । सन् १९८० को दशकमा इरान–इराक युद्ध हुँदा सो समीहले इराकका तर्फबाट लडेको थियो । तर, अमेरिकाले इराकमाथि आक्रमण गरेपछि उक्त समूहलाई निशस्त्र गरिएका थियो । (एजेन्सी)

प्रतिक्रिया