२५ रुपियाँ लाग्नेमा ४ हजार ५ सय असुल

बाग्लुङ, १४ असोज । बाग्लुङका दुई सरकारी कर्मचारीले २५ रुपियाँ लाग्ने नाबालक परिचयपत्रका लागि चार हजार पाँच सय रुपियाँ लिएको खुलासा भएको छ ।

मल्म–५ का चन्द्रबहादुर रानाका छोरा एक्सन रानाको परिचयपत्र बनाउने क्रममा गाविस सचिव चण्डीप्रसाद शर्मा र सिडिओ कार्यालयका टाइपिस्ट डिल्लीप्रसाद शर्मा पौडेलले रकम लिएका हुन् । नियमअनुसार परिचयपत्र बनाउनका लागि सचिवले सिफारिसबापत २५ रुपियाँ र सिडिओ कार्यालयमा टिकटस्वरूप १० रुपियाँ मात्र लाग्ने प्रशासनले जनाएको छ । तर जन्मदर्तामा जन्ममिति २०५४ र विद्यालयको सर्टिफिकेटमा २०५५ उल्लेख भएकाले काम नबन्ने बताएपछि गाविस सचिवलाई दुई हजार पाँच सय रुपियाँ र सिडिओ कार्यालयका टाइपिस्टलाई दुई हजार रुपियाँ दिएको रानाका आफन्त लक्षु रानाले बताए ।
कागजपत्र लिएर प्रशासन पुगेका उनीहरूलाई सिडिओ महादेव पन्थले ‘रानाले गुल्मीको विद्यालयबाट अध्ययन गरेकाले उनको बारेमा एक साता बुझ्नका लागि समय लाग्ने’ भन्दै पठाएका थिए । तर सचिव शर्मा र टाइपिस्ट पौडेलले पैसा दिए समय नलाग्ने बताएपछि पैसा दिएको उनले बताए । गाविस सचिव शर्माले सुरुमा आनाकानी गरे पनि पछि पैसा लिएको स्वीकार गरे ।
‘दुई–तीन दिनदेखि काम अड्किएको थियो,’ शर्माले टेलिफोनमा भने, ‘दु:ख गर्नुभो भनेर चियापान गर्नुस् भन्दै पैसा दिएपछि मैले लिएको हुँ, अब तुरुन्तै फिर्ता गरिदिन्छु ।’ अर्का आरोपी प्रशासनका टाइपिस्ट डिल्ली शर्मा पौडेलले पनि ढिलो गरी पैसा लिएको स्वीकार गरे । उनले आगामी दिनमा यस्तो गल्ती नगर्ने जनाउँदै लिएको पैसाको दोब्बर पैसा फिर्ता गरिदिने बताए ।
कर्मचारीले यसरी खुलमखुला घुस लिएकोबारे जिल्लाका अख्तियारप्राप्त निमित्त सिडिओ काशीराम शर्माले तुरुन्तै छानबिन सुरु गरिने बताए । ‘नाबालक परिचयपत्रका लागि हुलाक टिकटबाहेक थप शुल्क लाग्दैन,’ उनले भने, ‘यदि कुनै कर्मचारीले विभिन्न बहाना बनाएर पैसा लिएको पाइएमा नियमानुसार कारबाही गर्छौं ।’ उनले कार्यालयका कर्मचारी र सचिवले पैसा लिएको विषय गम्भीर रहेकाले छानबिनपछि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया