भट्टराई ‘लाल दलाल’ : नेकपा–माओवादी

काठमाडौं, १३ असोज । नेकपा–माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ‘लाल दलाल’को संज्ञा दिएको छ ।
नेकपा–माओवादीका जनवर्गीय संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री भट्टराईको नामै नलिएर उनलाई भारतीय विस्तारवादको नयाँ तथा ‘लाल दलाल’को आरोप लगाएका हुन् ।
‘नेपालमा केही महिनादेखि भारतीय विस्तारवादका नयाँ तथा ‘लाल दलाल’हरु सत्तासीन बनेर बिप्पालगायतका सम्झौता गरेका छन्,’ जारी विज्ञप्तिमा उल्लेख छ,’ ‘माथिल्लो कर्णाली, अरुण तेस्रो जस्ता राष्ट्रघाती सन्धिहरु गर्ने, अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमानास्थलहरुको सञ्चालन गर्ने जिम्मा भारतीय कम्पनीलाई दिने लगायतका कार्य भएका छन् ।’
नेकपा–माओवादीले भट्टराईका कूकृत्यले मुलुकको राष्ट्रिय स्वाधीनता एवम् सार्वभौमिकतामाथि खतरा पैदा भैरहेको आरोप लगाएको छ ।
त्यसै गरेर नेकपा–माओवादीले पेट्रोल, डिजल, ग्याँसलगायतका दैनिक उपभोग्य वस्तुहरु ओसार पसार गर्ने भारतीय गाडीहरुको आवागमनमा कुनै अवरोध नगरेको जनाएको छ । ‘दैनिक उपभोग्य सामान ल्याउने सवारी साधनमा अवरोध छैन,’ उनीहरुले भनेका छन्, ‘नेपाल भित्राइएका गाडीहरु फर्कन पनि कुनै अवरोध छैन ।’
उनीहरुले नेपालीप्रति वितृष्णा जगाउने, अपमान गर्ने, होच्च्याउने, अश्लील, छाडा एवं सांस्कृतिक विकृति–विसंगति फैलाउने, भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाउने पार्टीको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएका छन् ।

संयुक्त प्रेस–वक्तव्य
नेपाल एवं नेपालीप्रति वितृष्णा जगाउने, अपमान गर्ने र होच्च्याउने, अश्लील, छाडा एवं सांस्कृतिक विकृति–विसंगति फैलाउने, चलचित्र प्रदर्शनीमा रोक लगाउने र राष्ट्रिय आत्म–निर्भर अर्थतन्त्रको विकास, नेपाली नागरिकको रोजगारीको संरक्षण, नेपाली लगानीको सदुपयोग र नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरुको निर्वाध आवागमन हुने तर भारतमा भने नेपाली नम्बर प्लेटका गाडीहरुको आवागमनमा सीमाक्षेत्रमै रोक लगाइने कार्यले पैदा गरेको असमानतासमेतलाई ध्यान दिंदै नेपाल कम्युनिस्ट पार्टी–माओवादीले गत असोज ११ गतेदेखि नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरुको आवागमनमा रोक लगाएको तर पेट्रोल, डिजल, ग्यासलगायतका दैनिक उपभोग्य वस्तुहरु ओसार पसार गर्ने गाडीहरुको आवागमनमा तथा नेपाल भिœयाइएका गाडीहरु फर्कन कुनै अवरोध नपु¥याउने गरेको सर्वविदितै छ ।
नेपालमा केही महिनादेखि भारतीय विस्तारवादका नयाँ तथा ‘लाल दलाल’हरु सत्तासीन बनेर बिप्पा, माथिल्लो कर्णाली, अरुण तेस्रो जस्ता राष्ट्रघाती सन्धिहरु गर्ने, अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमानास्थलहरुको संचालन गर्ने जिम्मा भारतीय कम्पनीहरुलाई दिने दुस्साहस गर्ने जस्ता कूकृत्यहरु गरेर मुलुकको राष्ट्रिय स्वाधीनता एवं सार्वभौमिकतामाथि खतरा पैदा भैरहेको सन्दर्भमा नेपाली क्रान्तिकारीहरुको यो कार्य साहसिक मात्रै हैन, बिल्कुलै सही र सराहनीय रहेको हामी निम्न जनवर्गीय संगठन र मोर्चाहरुले ठहर गरेका छौं ।
यसै सन्दर्भमा कतिपय शक्ति एवं व्यक्तिहरुले नेपालमा भारतीय नम्बर प्लेटका गाडीहरुको आवागमनमा रोक लगाइने कार्यको विरोध गरेकोतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ । आश्चर्यको कुरो के छ भने नेपालमा भारतीय नम्बर प्लेटका गाडीहरुको निर्बाध आवागमन भए तापनि नेपाली गाडीहरुलाई भारतीय सीमाक्षेत्रमै प्रवेशमा रोक लगाइने र कुनै–कुनै गाडी नियमपूर्वक अनुमति लिएर गएको रहेछ भने पनि तिनीहरुलाई अनेकौं दुःख–सास्ती दिने गरेको तथ्यतर्फ भने तिनीहरु सबै मौन देखिन्छन् । यसबाट तिनीहरुको राष्ट्रियताप्रतिको दृष्टिकोण र विदेशीभक्ति स्पष्ट हुन्छ । साथै, नियम पु¥याएर तथा अनुमति लिएर आएका भारतीय नम्बर प्लेटका गाडीहरुलाई केही नगरिएको तथ्यतर्फ भने तिनीहरुको ध्यानै गएको छैन ।
अन्त्यमा, नेपाल कम्युनिस्ट पार्टी–माओवादीद्वारा सञ्चालन गरिएको उक्त राष्ट्रिय स्वाधीनताको संरक्षण अभियान र नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरुको आवागमन रोक्ने कार्यलाई हामीहरु जोडदार समर्थन गर्दछौं र उक्तः कार्यमा सक्रिय सहभागी रहने प्रतिवद्धता व्यक्त गर्दै सम्पूर्ण देशभक्त नेपालीहरुलाई पनि सहभागी भइदिनुहुन हार्दिक आह्वान गर्दछौं ।
…………………
सुरेश आले मगर
महासचिव
आदिवासी–जातीय–क्षेत्रीय महासंघ, नेपाल
…………………….
जयपुरी घर्तीमगर
अध्यक्ष
अ.ने.म.संघ (क्रान्तिकारी)
………………………….
तिलक परियार
अध्यक्ष
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
…………………
ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
अखिल नेपाल जनसाँस्कृतिक महासंघ
…………………….
रामदीप आचार्य
संयोजक
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
…………………
सरद रसाइली
संयोजक
अनेरास्ववियू (क्रान्तिकारी)
………………………….
ठाकुर चापागाईं
अध्यक्ष
अखिल नेपाल किसान संघ (क्रान्तिकारी)
…………………….
शिव कट्टेल
अध्यक्ष
नेपाल राष्ट्रिय उद्योग–व्यापार महासंघ
………………………….
एकराज भण्डारी
अध्यक्ष
राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपाल
…………………
पदम देवकोटा
संयोजक
अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ

प्रतिक्रिया