अक्षरको खेती कति जोखिमपूर्ण ?

म सामान्यज्ञान (जनरल नलेज) लेखक हँु । यसअलावा साहित्य पनि मेरो रुचिको विषय हो । साहित्यमा सिर्जनाका छटाले छुट्टै खालको सुखानुभूति दिन्छन् भने सामान्यज्ञानको जगत्मा तथ्यपरक रमाइला जानकारीले चेतनस्तर वृद्धि गर्दै बौद्धिकताको शिखर आरोहण गराउँछ । साहित्य मनसँग सम्बन्धित छ र सामान्यज्ञान मस्तिष्कसँग । यसरी मन–मस्तिष्क माझिने दिनचर्याले जीवनलाई रोचक र रोमाञ्चक बनाउँदो रहेछ ।
साहित्य लेखनमा म आफ्नो विचारप्रति पूर्णसचेत र इमान्दार हुन्छु । तर ‘सामान्यज्ञान’ संकलन, लेखन र सम्पादनमा चाहिँ भावनाले काम गर्दैन । अधिकांश समय मस्तिष्क नै जोत्नुपर्ने हुन्छ । भन्नेले त सामान्यज्ञानमा खास ‘क्रियसन’ नै हँुदैन, अन्य जगत्को तथ्य बटुल्ने काम मात्रै हो भन्छन् । धेरैलाई यस्तै लाग्दो हो । तर, मेरो दुई दशकभन्दा लामो अनुभवले के बताउँछ भने त्यो सतही दृष्टि रहेछ । एउटै तथ्यको जानकारीले कुनै व्यक्तिको जिन्दगी परिवर्तन गरिदिनसक्छ । त्यसैले तथ्यपरक कुरालाई अत्यन्तै संवेदित भएर प्रस्तुत गर्नुपर्छ । गलत तथ्यको प्रस्तुतिले एक व्यक्तिलाई मात्र होइन सिंगै जगत्लाई गलत मार्गमा धकेल्न सक्छ, थेगिनसक्नुको हंगामा मच्चाउन सक्छ ।
सामान्यज्ञानबारे मेरा तीन दर्जन बढी पुस्तक प्रकाशित छन् । यसै क्षेत्रमा सम्बन्धित रहेर मैले थुप्रै टेलिभिजनमा ‘क्विज कन्टेस्ट’ कार्यक्रम सञ्चालन पनि गरेको छु । अधिकांश त्यस्ता कार्यक्रममा ‘कन्सल्ट्यान्ट’ को भूमिका निर्वाह गरेको छु । सामान्य ज्ञान संकलनमा तथ्य यता/उता पर्‍यो भने वा तर्कुले, बाहिमात्रा फरक पर्‍यो भने शब्दले दिने अर्थमा आकाशपातालको फरक पर्छ । छापिएर आइपुग्दा अगाडि/पछाडिका अक्षर छुट्दा पनि त्यस शब्दको अर्थ नै अर्कै लाग्छ । जस्तो पञ्चायतकालमा ‘बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी ‘गुलाफ’को फूल असाध्यै मन पराइबक्सन्छ’ भन्ने वाक्य उनको जन्मदिन कार्तिक २२ गते गोरखापत्र दैनिकमा छापिनुपर्नेमा गुलाफ शब्दको पछाडिको ‘फ’ अक्षर छुटेर प्रकाशित हुँदा राजदरबारमा ठूलै हंगामा मच्चियो । सँगै गोरखापत्रको प्रुफरिडर शाखाको हाकिमलगायत २–४ जना कारिन्दको जागिरै गयो । म संलग्न टेलिभिजनका कार्यक्रममा पनि यस्ता थुप्रै घटना घटेका छन् ।
०५८ सालमा भारतीय सोनी च्यानलमा अत्यन्तै लोकप्रिय भएको ‘कौन बनेगा करोडपति ?’ बाट प्रभावित भई प्रताप थापा (कांग्रेस नेता अर्जुननरसिंह केसीका साला) ले ‘नगद पाँच लाख’ कार्यक्रम नेपाल टेलिभिजनमा भित्र्याए । तर, मलाई आयोजकले भाग लिन दिएन, सायद यो सामान्य ज्ञान पुस्तकको लेखक हो र यसलाई सबै प्रश्नको उत्तर आउँछ भनेर होला । त्यसको साटो मैले ‘प्रश्न बनाउने’ भूमिका पाएँ ।
कार्यक्रमको एक एपिसोडमा भक्तपुर कटुन्जे प्राविका हेडमास्टर ‘हटसिट’ मा पुगेका थिए । प्रश्न थियो– ‘क देखि ज्ञसम्म कति अक्षर हुन्छन् ?’ सायद प्रश्न उनैसँग सम्बन्धित भएकाले खासै अप्ठेरो थिएन । तर, त्यस्तो कार्यक्रममा उनी पहिलोपटक भाग लिएकाले वातावरणमा सहज हुन सकेन । फेरि प्रस्तोता मदनकृष्ण श्रेष्ठको छिटो भन्नोस्, ‘क’ को उत्तरलाई नै गाँठो पारिदिऔँजस्ता अत्याइले ती अत्तालिए । विकल्प– २६, ३०, ३६, ४० यस्तै रहेकामा हतारिएरै ‘२६ अक्षर’ भन्न पुगे । सायद अंग्रेजी वर्णमालाको अक्षर सम्झे होलान् । उत्तर गलत भएकाले उनी ‘हट सिट’बाट निस्किए । लगभग एक दसक हेडमास्टर भएको मान्छेले सामान्य प्रश्नको जवाफ दिन नसकेकामा दर्शकदीर्घामा हाँसो गुन्जियो । उनी लाजले रातोपिरो हँुदै त्यहाँबाट बाहिरिए । त्यसको हप्ता दिनपछि खबर आयो ‘ती हेडमास्टरले आत्महत्या गरे ।’ हामी निकै स्तब्ध भयौँ । त्यस घटनाले कहिलेकाँही मलाई विचलित गराउँछ ।
०५९ सालतिर नेपालका प्रसिद्ध व्यापारिक घरनिया चौधरी ग्रुपको प्रायोजनमा अधिराज्यव्यापी अन्तरक्याम्पस ‘एलजी क्विज प्रतियोगिता’ आयोजना गरियो । कार्यक्रमका ‘क्विज मास्टर’ थिए नेपालका प्रसिद्ध अभिनेता राजेश हमाल । सञ्चारकर्मी दिनेश डिसी कार्यक्रम निर्देशक थिए । मचाहिँ ‘प्रश्नकर्ता’ थिएँ । संस्कृतिसम्बन्धी एउटा प्रश्न त्यस वर्षको मंसिर महिनामै रिलिज हुनुपर्ने थियो तर प्राविधिक कारणले फागुनको दोस्रो साता रिलिज भयो । प्रश्न थियो, ‘नेपालका कुन जातिले बिहे गर्दा सम्धीहरू लडाइँ गर्ने गर्छन् ?’ उत्तर थियो– कुमाल । संयोगले त्यही वर्षको फागुनको पहिलो हप्ता ‘नेपाल कुमाल संघ’ को स्थापना भएको रहेछ । त्यस संघले ‘हाम्रो जातको संस्कृतिमै नभएको प्रश्न नेपाल टेलिभिजनबाट प्रसारण गर्ने ?’ भन्दै प्रस्तोता राजेश हमाललाई यसको क्षतिपूर्ति चाहिन्छ भनेर एक हप्तासम्म र्‍याखर्‍याखती पारेपछि यो कुरा कार्यक्रमका निर्देशक दिनेश डिसी हँदै म कहाँ आइपुग्यो । मसँग हरेक प्रश्नका उत्तरको स्रोत भएको हुनाले फोटोकपी गरेर ती स्रोत उपलब्ध गराइदिएपछि बल्ल उनीहरू चुप लागे ।
अहिले गोरखापत्र दैनिकमा हरेक बुधबार (पेज नं.२ मा) वस्तुगत र विषयगतका लोकसेवाका सहयोगी सामाग्री प्रस्तुत गर्दै आएको छु । यसमा पनि एक वर्षभित्रमा सामान्य झिना मसिना (चनाखो हुँदाहुँदै पनि) केही गल्ती हुन्छन् । सामान्यज्ञानका क्षेत्रमा पाइला टेकेदेखि नै तथ्यगत कुरामा गल्ती त हुनु हँुदैन भन्ने जान्दाजान्दै पनि मलाई गोरखापत्रको यस स्तम्भले वाक्यपिच्छे झस्काएको छ ।
अत: अक्षरका खेती गर्ने मान्छेलाई अन्य क्षेत्रका मान्छेले जति सहज, सरल र सजिलो देख्छन्, यर्थाथमा उति सजिलो जीवन हुँदैन रहेछ । तर्कुले, बाहिमात्रा यताउता पर्दा यसको अर्थ नै अर्कै हुँदोरहेछ । सामान्यज्ञानका तथ्यगत कुरामा एक इन्च पनि तलमाथि हुँदा त्यसको वास्तविकता नै बदलिन्छ । झट्ट हेर्दा ‘सुनार’ र ‘सुनुवार’ तथा ‘उपभोग’ र ‘उपयोग’ उस्तै देखिए पनि नियालेर हेरे आकाश–पातालको फरक हुन्छ । यस्ता कुरामा भाषाविद्देखि सबैजना निकै चनाखो हुनुपर्छ ।

प्रतिक्रिया