एपिएफको दोस्रो जित

काठमाडौं, १२ असोज । साविक विजेता क्षेत्र नम्बर–५ नेपालगन्जलाई ५३ रनले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) ले पोखरामा जारी सिनियर महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा क्षेत्र नम्बर–८ पोखरालाई चबार रनले पराजित गरी क्षेत्र नम्बर–१ विराटनगरले पहिलो जित हात पार्‍यबो ।
टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन जोडेको थियो । एपिएफको इनिङमा सीता रानामगरले ३४ र रुविना क्षत्रीले १५ रनको योगदान गरेका थिए । एपिएफलाई चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको नेपालगन्ज १६.२ ओभरमा ३८ रनमा सीमित भयो । साविक विजेता टोलीका पाँच ब्याट्सवुमनले खाता खोल्न सकेनन् । राष्ट्रिय टिमकी विकेटकिपर ममता थापाले १० रन जोड्नुबाहेक चार राष्ट्रिय खेलाडी सामेल नेपालगन्जका अन्य कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् ।
राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी नेरी थापा चार रनमा आउट भइन् भने राष्ट्रिय टिमकै ओपनर ब्याट्सवुमन मनीष रावलले रन जोड्न सकिनन् । चलेका अन्य ब्याट्सवुमनमा तृष्णा सिंह ७ र सामना पुन शून्यमा आउट भए । प्रारम्भिक जोडी सरस्वती जिएम शून्य र लक्ष्मी चौधरी एक रनमा आउट भए । नेपालगन्जले १० अतिरिक्त रन पाएको थियो । नेपालगन्जलाई थोरै रनमा सीमित गर्ने क्रममा एपिएफकी करुणा भण्डारीले तीन तथा सोनु खड्का र सरिता मगरले समान दुई विकेट लिए । नेपालगन्जका ६ ब्याट्सवुमन बोल्डआउट भएका थिए । चार ओभर बलिङ गर्दै एक मेडन राखेर आठ रन खर्चंदै एक विकेट लिएकी एपिएफकी रुविना क्षत्री वुमन अफ द म्याच भइन् ।
अधिकांश राष्ट्रिय टिमका सदस्यको बाहुल्य रहेको एपिएफ पूर्वराष्ट्रिय कप्तान नीरा राजोपाध्यायको नेतृत्वमा छ । पहिलो खेलमा एपिएफले क्षेत्र नम्बर–८ पोखरालाई पराजित गरेको थियो ।
नेपालगन्जविरुद्ध राष्ट्रिय टिमकी सदस्य सीताले ६४ बल सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । १४ बल सामना गर्ने क्रममा रुविनाले दुई चौका प्रहार गरिन् । एपिएफका लागि मधु थापाले २, सरिता मगरले पाँच, नीराले दुई र विनु बुढामगरले ६ रनको योगदान गरे । नेपालगन्जले २२ अतिरिक्त रन दिएको थियो । बलिङतर्फ नेपालगन्जका लागि तृष्णाले दुई विकेट लिइन् ।
समूह ‘बी’ अन्तर्गत नै क्षेत्र नम्बर–७ जनकपुरधामविरुद्ध हार व्यहोरेको भोलिपल्ट बिहीबार विराटनगरले पहिले ब्याटिङ गर्ने क्रममा राष्ट्रिय टिमकी सदस्य रश्मी चौलागार्इंको २६ रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै ६८ रन जोडेको थियो । २३ अतिरिक्त रन पाएको विराटनगरका लागि अन्य ब्याट्सवुमनले पाँच रन पनि पार गर्न सकेनन् । यता सुधारिएको ब्याटिङ प्रदर्शन गरे पनि पोखरा निर्धारित २० ओभरमा ६४ रनमा सीमित भयो । पोखराका लागि सुशीला गुरुङले २३ र प्रज्ञा पोखरेलले १५ रन जोडे । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । तर तेस्रो विकेटका रूपमा प्रज्ञा आउट भएपछि पोखराको पतन पुन: सुरु भएको थियो । पोखराका दुवै प्रारम्भिक ब्याट्सवुमनसहित चार खेलाडीले खाता खोल्न सकेनन् । नाम चलेका दुई खेलाडी आरती विडारी तीन र प्रभा नेपाली दुई रन जोडी आउट भए । पोखराले १७ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ पोखराका लागी रश्मी र नेहा कार्कीले समान दुई विकेट लिए । बलिङतर्फ पनि चम्कने क्रममा चार ओभरमा एक मेडन राखेर नौ रन खर्चिएकी रश्मी वुमन अफ द म्याच घोषित भइन् ।

प्रतिक्रिया